८ वैशाख २०८१ शनिबार
राजनीति

‘राष्ट्रपतिज्यू ! अहिले संविधानको हालत के छ ?’

बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरूमा भएको असंवैधानिक नियुक्तिको विरोधमा मार्चपास गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायहरूमा गरेको असंवैधानिक नियुक्तिको प्रतिकारस्वरूप शुक्रबार बृहत् नागरिक आन्दोलनको आह्वानमा लैनचौरदेखि राष्ट्रपति कार्यलय शीतल निवाससम्म मार्चपास गरिएको हो।

प्रहरीले लैनचौर हुँदै राष्ट्रपति कार्यलय शीतल निवास निषेधित क्षेत्रतर्फ बढ्न नदिएपछि पानीपोखरीमा बृहत् नागरिक आन्दोलनले सभा गरेको थियो। सभामा बोल्दै प्राध्यापक कृष्ण खनालले नेपाली राजनीति सुधार्न जरुरी रहेको तर्क गरे। ‘राजनीति सुधार गर्न जरुरी छ,’ उनले भने, ‘२०६२/६३ को आन्दोलनमा हामीले थाहा पाएका थियौं, यिनीहरूबाट सुधार हुँदैन भनेर। हामी सचेत थियौं। तर हामीले मौका दियौं। अब नागरिकहरूले त्यस्तो मौका दिनेवाला छैनन्।’

पुष्पकमल दाहाल, माधव नेपाल, खड्गप्रसाद ओली, झलनाथ खनाल, शेरबहादुर देउवा, रामचन्द्र पौडेलबाट अब देश चल्दैन भनेर प्रस्ट सन्देश दिन चाहेको उनले बताए। ‘नागरिक समाज कसैको पक्षमा वा राजनीतिक दलको पक्षमा उभिएको होइन,’ उनले भने, ‘राजनीतिमा जमेको फोहोर चिरेर फाल्दै नागरिक चेतना र विवेकलाई अविच्छिन्न राख्न यो आन्दोलन जारी रहन्छ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले साक्षी भएर संविधानको उल्लंघन गरिरहेको बताएका थिए। ‘तिमी (राष्ट्रपति विद्यादेवी भण्डारी) साक्षी बसेर बनाएको संविधानको हालत के छ ?’ उनले प्रश्न गरे, ‘तिमी साक्षी भएर कति ठाउँमा संविधानको उल्लंघन भइरहेको छ ?’ उनका आँखा र कान खुल्नेगरी प्लेकार्ड देखाउने उद्देश्य रहे पनि राज्यले छेकेको उनले बताए। ‘जब हाम्रो चेतना र कर्तव्यले योभन्दा अगाडिको बाटो खोज्छ, त्यसपछि हामीलाई कसैले छेक्न सक्दैन। हिजो २०६२/६३ मा योभन्दा ठूला छेकबार थिए। ती सबैलाई तोडेर अगाडि बढेका हौं,’ उनले भने, ‘यो कसैले नठान्नू कि नागरिक अब यहीं नै रोकिए। हामी रोकिएका छैनौं। हामी कहाँ पुग्ने हो, हामीलाई थाहा छ। दिन आएपछि हामी पछि पर्दैनौं। शीतलनिवास र बालुवाटारले मात्र नभई हामी न्यायालयलाई पनि भन्छौं, तिमीले जोगाउनुपर्ने संविधानको हालत के छ अहिले ?’ प्रधानन्यायाधीशसमेत यस संविधान उल्लंघनको साक्षी बसिरहेको आरोप उनले लगाए।

उनले संविधान र लोकतन्त्रमाथि आएका चुनौती अदालतले जोगाइदिएका उदाहरण संसारमा थोरै भएको बताएका थिए। ‘संविधान र लोकतन्त्रमाथि आएका चुनौती अदालतले जोगाएका थोरै उदाहरण छन्,’ उनले भने, ‘जुन दिनसम्म नागरिक सडकमा उभिँदैनन्, त्यो दिनसम्म संविधान जोगिँदैन। कानुनको डिग्री बोकेर कालो कोट लगाउनेले मात्र संविधानको रक्षा गर्ने भन्ने होइन। संविधानलाई हामीले शिष्ट र सभ्य पहिरनका रूपमा लिएका छौं। हाम्रो पहिरनमा विविधता छ। राज्य कहिलेकाहीं जंगली अवस्थामा पुग्दा पहिरनको आवश्यकता पर्छ भनेर हामीले संविधान निर्माण गरेका हौं। आज त्यो संविधानको पहिरन च्यातिएको छ।’

उनले नागरिक आन्दोलन संसद् पुनःस्थापनाका लागि मात्र नभएर देश र जनताका लागि भएको बताएका थिए। ‘च्यातिएको पहिरन हामी आफैं गएर फेरिदिनुपर्ने दिन नआओस्। शीतल निवास, बालुवाटार वा सर्वोच्च अदालत नै किन नहोस्। हामी आफ्नै विवेक, चेतना र कर्मले परिचालित भएकाले नागरिक आन्दोलन संसद् पुनःस्थापनाका लागि मात्र नभएर, यो भूमिमा जुन दिनसम्म नागरिक रहन्छन्, त्यो दिनसम्म नागरिक आन्दोलन चलिरहन्छ।’ नेपाली समाजको गति निर्माणका लागि नागरिक आन्दोलन जरुरी भएको तर्क उनले गरेका थिए। ‘आवश्यकता परेको अवस्थामा नागरिक समाजको रूप अलिक कडा हुन्छ। अनि त्यसले निर्णायक मोड लिन्छ। अहिले हामी त्यस्तै निर्णायक मोडमा पुग्दैछौं,’ उनले भने।

कार्यक्रममा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुमको शासनलाई जराबाट उखेल्न नागरिक समाज जरुरी भएको बताएका थिए। ‘प्रधानमन्त्री ओलीले संसद् विघटनको नाममा जे गरेका छन्,’ उनले भने, ‘त्यसलाई ल्याप्चे लगाउने काम भयो भने आउँदो दिनमा नेपालमा संसद्ले पाँच वर्षको आयु देख्न पाउनेछैन। सांसदहरू सरकारको गुलेलीको सिकार हुनेछन्। कार्यकारीले संविधानको व्याख्या गर्छन्। तर कार्यकारीको मतहातमा न्यायपालिका हुँदैछ। त्यसको मतलब नेपालमा धेरै गडबड हुँदैछ। हामीले लडेर ल्याएको लोकतन्त्र खतरामा पर्दैछ। हुकुम शासनको जरा उखाल्ने काम नागरिक समाजले गर्न जरुरी छ।’

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका अध्यक्ष र सदस्यका रूपमा सिफारिस गरिएकाहरूलाई नियुक्त गरेकी थिइन्। शीतल निवासमा उनीहरूलाई शपथ ग्रहण गराइएको थियो। यसअघि बृहत् नागरिक आन्दोलनले आउँदो फागुन ७ प्रजातन्त्र दिवसको दिन टुँडिखेलबाट प्रतिगमनविरुद्ध भेला हुन आह्वान गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि बृहत् नागरिक आन्दोलन सुरु भएको थियो।

प्रकाशित: २४ माघ २०७७ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App