१६ चैत्र २०८० शुक्रबार
राजनीति

ओली यति धेरै तानाशाही छन्, त्यति त पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि थिएनन्ः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मकै ठूला तानाशाह भएको आरोप लगाएका छन् । टीकापुरमा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर ओली तानाशाहका रूपमा उदाएको बताए । उनले भने, ‘पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र पनि यति धेरै तानाशाही थिएनन् ।’  

उनले प्रधानमन्त्री ओलीले अदालत, सेना, प्रहरीलगायतमा आफ्ना मान्छे भर्ती गरेर ‘सेटिङ’ मिलाएको बताउँदै अदालतमा १५ वर्षसम्म ओलीका मान्छे रहनेगरी अहिले नै ‘सेटिङ’ भैसकेको छ । उनले प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउन नचाहेको बताए । ‘चुनाव हात्तीको देखाउने दाँत मात्रै हो,’ उनले भने, ‘चुनाव हुन्छ भन्ने भ्रममा हामी कोही पर्नु हुँदैन।’

उनले संविधान र लोकतन्त्रलाई सही दिशामा लैजाने जिम्मेवारी आएको बताउँदै कांग्रेस र नेकपालाई प्रतिगमनविरुद्ध संघर्षमा उत्रिन आग्रह गरे । उनले चुनाव भइहाले बहुमत आउँछ भन्ने भ्रममा कसैले पर्न नहुने बताउँदै ओलीले चुनाव गराइहाले पञ्चायती शैलीको चुनाव गराउने दाबी गरे ।  

उनले २०७२ भदौ ७ गते टीकापुरमा भएको घटना राजनीतिक भएको बताए । उनले टीकापुर घटनालाई राजनीतिक घटनाकै रुपमा सम्बोधन गरिनुपर्ने बताए । उनले कैलाली क्षेत्र नं. १ बाट विजयी सांसद रेशमलाल चौधरीलाई सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा जेलमा राखेको आरोपसमेत लगाए ।  

उनले देशका सबै जातजाति अट्ने गरी जनता समाजवादी पार्टी (जसपा) को निर्माण भएको बताए । उनी जसपाका संघीय परिषद अध्यक्ष समेत हुन । सोही सभामा नेता प्रमोद साहले देश गम्भीर संकटमा फसेको बताए । उनले प्रतिनिधिसभाको विघटनसँगै प्राप्त उपलब्धि गुमेको बताए ।  

जनता समाजवादी पार्टी कैलालीको आयोजनामा भएको केपी ओलीद्वारा गरिएको प्रतिगमनविरुद्धको विरोधसभामा विभिन्न वक्ताहरूले बोलेका थिए ।

प्रकाशित: ९ माघ २०७७ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App