२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति प्रधानमन्त्री ओलीको आपत्ति

तस्वीरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाएका छन्। उनी निकट प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको भेलामा प्रधानमन्त्री ओलीले नेपाली पत्रकारले आफ्नो सभ्यता भुलेर ‘तिमी’ शब्द प्रयोग गर्ने गरेको बताए।

‘हाम्रो सभ्यतमाथि हमला भइरहेको छ। तपाईंहरु पनि कति होसियारी साथ कति बेहोसी साथ, लेख्नुपर्‍यो भने, अंग्रेजी ‘यू’ को अनुवाद तिमी लेख्नुहुन्छ,’ ओलीले भने,‘तपाईंहरु आफ्नो बा, आमा हजुरआमा, हजुरबाहरुका बारेमा लेख्नुपर्‍यो भने तपाईं भन्नुहुन्छ जस्तो लाग्दैन तिमी नै भन्नुहुन्छ सबैलाई।’ 

नेपाली पत्रकारले अंग्रेजहरुको नक्कल गरेर आफ्नो सभ्यतालाई भुल्न खाजेको ओलीको दाबी छ। अंग्रेजहरुले आफ्नो सभ्यतालाई विश्वभर फैलाउन चालेको चाललाई नेपालका पत्रकारले अनुशरण गरेको उनले बताए। ओलीले नेपाली पत्रकारहरु आफ्नै पूरानो सभ्यतामा फर्किनुपर्नेमा जोड दिए।

‘तपाईंहरु अंग्रेजको सिकेर तपाईं कसैलाई पनि भन्नुहुन्न। हामी 'यू' वाला होइन तपाईंवाला हाे। 'यू' भन्या तिमी। गज्जब छ हाम्रो नक्कलबाजी। बीबीसीले 'यू' भनिदियाे। हामीले 'यू'को अनुवाद गरेर तिमी चलाइदियाैं। उसलाई त हाम्रो सभ्यता, संस्कार, भाषामाथि हमला गर्नुछ भन्दियो। अनि हामीले हाम्रो भाषा, हाम्रो संस्कृतिलाई भुलेर 'यू' वालामा गयौं। हामीले आफूभन्दा ठूलालाई तपाईं भन्नुपर्छ भन्ने संस्कृतिलाई भुल्यौं। तर हामी फर्किनुपर्छ,’ ओलीले भने।

हरेक समाजको आ–आफ्नो मूल्य मान्यता हुने उल्लेख गर्दै उनले आफ्नै समाजलाई अनुशरण गर्नुपर्ने बताए। ‘यो मामुली कुरा देखिन्छ तर मामुली कुरा होइन,’ ओलीले भने,‘मेरो आग्रह के हो भने, हरेक देशको आ–आफ्नो सभ्यता हुन्छ, त्यो समाजलाई त्यही सभ्यताले बाँधेको हुन्छ। हामीले आफ्नो सभ्यतालाई अंगाल्नपर्छ।’

प्रकाशित: ८ माघ २०७७ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App