बिभाजनको संघारमा रहको नेकपाका दाङमा दुई समानान्तर भेला भएका छन्। भेला फरक फरक समयमा एउटै पार्टी कार्यालयमा भएका थिए। नेकपाको केपी शर्मा ओली समुह र पुष्पकमल दाहाल/माधवकुमार नेपाल समुहले जिल्लामा आआफ्नो रणनीति बनाउनका लागि छुट्टा छुट्टै भेला गरेका हुन्। आईतबार भएका दुई भेला मध्य ओली समुहले मध्यावधिक निर्वाचनका लागि माहोल निर्माण गर्ने रणनीति बनाएको छ भने दाहाल, नेपाल समुहले भने बिघटित संसद पुनरस्थापनाका लागि आन्दोलन गरेर जाने रणनीति बनाएको छ।
केपी शर्मा ओली समुहले चुनाव लक्षित कार्यक्रम लिएर गाउँ जाने रणनीति बनाएको छ। मध्यवधिक निर्वाचनको मिति तय भैसकेकाले निर्वाचनलाई सफल पार्न र चुनावी परिणाम आफ्नो पोल्टामा पार्नका लागि परिचालित हुने निर्णय ओली समुहले गरेको छ। ‘मुख्यतया सरकारले तोकेको मध्यावधिक निर्वाचन सफल पार्नका लागि सक्रिय भएर लाग्ने भन्ने रणनीति भेलाले गरेको छ,’ भेलामा सहभागी ओली समुहका केन्द्रीय सदस्य नरुलाल चौधरीले भने ‘अनि चुनावी परिणाम कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने विषयमा सिंगो संगठन परिचालित हुने रणनीति पनि भेलाले तय गरेको छ।’
भेलामा सहभागी अर्का केन्द्रीय सदस्य जितेन्द्रमान नेपालीले निर्वाचनको पक्षमा जनमत तयार पार्नका लागि संगठन परिचालित हुने वताए। ताजा जनादेशमा जानका लागि निर्वाचन एक मात्रै बिकल्प रहेको भन्दै उनले भने, ‘पार्टी विभाजन जस्तै भएका बेला अब कसरी आफ्नो पक्षमा जनमत पार्न सकिन्छ ? भन्ने विषयमा प्रशिक्षण भयो।’ यस्तै भेलाले ५ सय ५५ सदस्यीय अधिवेशन आयोजक कमिटी निर्माण गरेको छ। कमिटिका नयाँ सदस्यहरुलाई केन्द्रीय सदस्य छबीलाल ओलीले सपथ खुवाएका थिए।
केपी ओली समुहको भेला पछि नेकपाको सोही पार्टी कार्यालयमा बसेको दाहाल नेपाल समुहले भने ओली समुहलाई निष्तेज पारेर जाने रणनीति बनाएको छ। उसले प्रधानमन्त्रीह केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनरस्थापनाका लागि जनदबाब श्रृजना गर्ने अजेण्डा तय गरेको छ। ‘हाम्रो भेलाकोह मुख्य अजेण्डा भनेकै संसद पुरस्थापना हो,’ यो समुहका केन्द्रीय सदस्य निर्मल आचार्यले भने ‘संसद पुनरस्थापनाका लागि जनदबाब श्रृजना गर्नका लागि तल्लो तह सम्मका नागरिकलाई जागरुक बनाउने रणनीति हाम्रो भेलाले लिएको छ।’ आचार्यका अनुसार संसद पुनरस्थापनाको माग गर्दै पुुस १४ मा यो समुहले निर्धारण गरेको आन्दोलनमा जिल्लामा भब्य शक्ति प्रदर्शनका लागि माहोल निर्माण गर्ने भएको छ। जिल्ला स्तरिय आन्दोलनको कार्यक्रम पछि स्थानीय तह एबं वडा तह सम्म प्रशिक्षण कार्यक्र सञ्चालन गर्ने निर्णय दाहाल नेपाल समुहको भेलाले गरेको छ। ‘संसद पुरस्थापनका लागि जतिसक्यो ठूलो दबाबको सृजना गर्ने र त्यसका लागि संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छौँ,’ आचार्यले भने।
आईतवार बिहान ८ वजेदेखि ओली समुहको भेला नेकपाको पार्टी कार्यालयमा बोलाईएको थियो भने बिहान ११ बजे देखि उहि पार्टी कार्यालयमै दाहाल नेपाल समुहको भेला बोलाईएको थियो। दुई समुहका समानान्तर भेला एकै पार्टी कार्यालयमा बोलाईएकाले सम्भावित खतरा रोक्नका लागि प्रहरीहरु बाक्लो रुपमा खटाईएको थियो।
प्रकाशित: १२ पुस २०७७ ११:११ आइतबार





