coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा एकतामा संकट, सल्लाहमै पार्टी फुटाउने ओलीको चेतावनी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेपछि एकता संकटमा परेको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका पुष्पकमल दाहाललाई सल्लाहमै अलग हुने प्रस्ताव गरेपछि पार्टी एकता संकटमा परेको हो।

दुई अध्यक्षबीच भएको शनिवारको छलफलमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको निर्णयले आफूलाई सरकार सञ्चालन र दाहाललाई पार्टी सञ्चालनको जिम्मेवारी दिएको उल्लेख गर्दै भने, ‘सरकार सञ्चालन गर्न मलाई कस्ता मानिस आवश्यक पर्छ त्यो मैले जान्ने कुरा भयो। तपाईं जता पनि भागवण्डा खोज्नु हुन्छ यस्तै हो भने अब अलग अलग नै बसौं।’

स्थायी कमिटीको निर्णयविपरीत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूखुसी गरेको भन्दै नेकपा शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका थिए। कात्तिक ३ देखि दुई अध्यक्षबीच भेटघाट नभएको र संवाद पनि नभएको अवस्थामा शनिवार दुई अध्यक्षबीच भेटघाट हुँदा प्रधानमन्त्री ओलीले भागवण्डा खोजेको भन्दै पार्टीबाट अलग हुँदा नै राम्रो हुने धम्की दिएका थिए।

कार्यकारी अध्यक्ष दाहालले पनि आइतबार दिउँसो शीर्ष नेताहरुलाई ओलीले पार्टीबाट अलग हुनुस् भनेको भन्दै ब्रिफ्रिङ गरेका थिए। दाहालले ओलीसँग भएको भेटघाटबारे शीर्ष नेताहरुलाई खुमलटारमा बोलाएरै आइतबार उक्त बैठकबारे जानकारी गराएका थिए। ‘ओलीजी अब सँगै बस्न सकिंदैन अलग अलग बसौं भन्नुभयो, मैले पार्टीको सचिवालय बैठक बसौ समस्याबारे त्यही छलफल गरौं भनेको थिँए उहाँले अब सधैं सँगै बस्ने अवस्था देखिएन भन्नुभयो’, खुमलटार निकट स्रोतले भन्यो।

‘मुलुकमा संकट छ, म सरकारको काममा केन्द्रित हुनपर्ने मान्छे तपाईलाई मनाउन लाग्दा लाग्दै समय बित्यो, सधैं तपाईंको कुण्ठा सुन्दासुन्दै सरकारको काम समेत प्रभावित बनेको छ, तपाईं सरकारलाई असहयोग गर्नु हुन्छ, असन्तुष्टि मात्रै पोख्नु हुन्छ, पार्टीमा मैले तपाई दिनुपर्ने भन्दा बढी नै स्पेश दिएको छु सरकारमा पनि राम्रै स्थान दिएको छु यस्तो अवस्थामा तपाईलाई मात्रै मिलाउने काम हुन थाल्यो सरकारको काम नै तपाईंलाई मिलाउने, तपाईंका कुण्ठा सुन्ने मात्रै हुन थाल्यो यस्तो सधैं भैरहे बरु सल्लाहमै अलग अलग बसौ आफ्नो आफ्नो तरीकाले काम हुन्छ’, ओलीलाई उद्यृत गर्दै स्रोतले भन्यो।

कार्यकारी अध्यक्ष दाहालले पनि आइतबार दिउँसो शीर्ष नेताहरुलाई ओलीले पार्टीबाट अलग हुनुस् भनेको भन्दै ब्रिफ्रिङ गरेका थिए। दाहालले ओलीसँग भएको भेटघाटबारे शीर्ष नेताहरुलाई खुमलटारमा बोलाएरै आइतबार उक्त बैठकबारे जानकारी गराएका थिए। ‘ओलीजी अब सँगै बस्न सकिंदैन अलग अलग बसौं भन्नुभयो, मैले पार्टीको सचिवालय बैठक बसौ समस्याबारे त्यही छलफल गरौं भनेको थिँए उहाँले अब सधैं सँगै बस्ने अवस्था देखिएन भन्नुभयो’, खुमलटार निकट स्रोतले भन्यो।

भदौ २६ को स्थायी कमिटी बैठकपछि राजदूत नियुक्ति, मन्त्रीहरूको जिम्मेवारी हेरफेर र नियुक्ति तथा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावसम्म आइपुग्दा नेकपामा एकता प्रकृया संकटमा परेको छ। पाँच महिनासम्म चलेको नेकपाको आन्तरिक द्वन्दपछि भदौ २६ को स्थायी कमिटीको बैठकले ओलीलाई सरकार र दाहाललाई पार्टी काममा लाग्न निर्देशन दिंदै सकिएको थियो। तर दुई महिनापनि नपुग्दै दुवै अध्यक्ष अलग अलग हुने अवस्थामा आइपुगेका छन्।

नेकपा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भने पार्टी अलग हुने विषयलाई भन्दा पनि एकता प्रकृयालाई बलियो बनाएर जानुपर्ने पक्षमा रहेका छन्। उनीहरुले खुमलटारको भेलामा पार्टीको बैठक बोलाउनुपर्छ बैठकमै सबै कुरा राख्नुपर्छ पार्टी अलग हुने हल्ला चलाउने र सरकार वा पार्टी दुवैलाई कमजोर बनाउने प्रयास कसैबाट पनि हुनुहुँदैन भन्ने धारणा राखेको स्रोतको दावी छ। सचिवालय सदस्य रामबहादुर थापाले यसरी अलग अलग भेला गरेर पार्टी फुटाउने कुरा गर्नु उपयुक्त हुँदैन भन्ने धारणा राखेका थिए। ‘पार्टीका विभिन्न कमिटीहरु छन्। सचिवालय बैठक बसौं त्यहाँ छलफल गरौ, स्थायी कमिटीको बैठक बसौं त्यहाँ छलफल गरौं त्यहाँ पनि कुरा नमिले केन्द्रीय कमिटीमा लैजाऔं त्यहींबाट छिनोफानो गरौं’, थापालाई उद्यृत गर्दै स्रोतले भन्यो।

राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली सरकारको विषयमा प्रधानमन्त्रीको हस्तक्षेप,  पर्सामा नेकपा कार्यकर्ताको झडपपछि मृत्यु र भारतीय गुप्तचर संस्था रअ्का प्रमुख सामन्तकुमार गोयलसँगको भेटवार्ता जस्ता विषयमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको पार्टीका नेताहरुको आरोप रहेका बेला शनिबार दुई अध्यक्षको भेटघाट भएको थियो। त्यसबेला दुवै अध्यक्षले आफ्ना धारणा राख्नेक्रममा पार्टी विभाजनको समेत छलफल भएको थियो।

दुई अध्यक्षबीच कुराकानी सकारात्मक नभएपछि नेकपा महासचिव बिष्णु पौडेलले पार्टी एकता संकटका पुगेको संकेत गरेका थिए। आइतबार दिउँसो उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत् पार्टी एकता गम्भीर मोडमा पुगेकाले पार्टी एकता बचाउन नेता कार्यकर्तालाई अपील समेत गरेका थिए। ‘राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो’, उनले भनेका छन् ‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु दुई वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियो’ उनले भनेका छन्, ‘तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ। यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ उनले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने उनले बताएका दावी गरेका थिए।

आइतबार पार्टीभित्र संकट उत्पन्न भएपछि वालुवाटार खुमलटारमा अलग अलग छलफल भएको थियो।  महासचिव विष्णु पौडेल र उर्जामन्त्री वर्षमान पुन खुमलटार पुगेर दाहालसँग कुराकानी गरेका थिए भने गृहमन्त्री रामबहादुर थापा पनि वालुवाटार खुमलटार पुगेर पार्टी एकताको पक्षमा कुराकानी गरेका थिए। त्यस्तै आइतबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरु महासचिव बिष्णु पौडेलले  संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल , गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतका नेतासँग छलफल गरेका छन्। यस्तै, अध्यक्ष दाहालले पनि आफू निकटका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेतासँग छलफल गरेका थिए। अध्यक्ष दाहालले आफू निकटका नेताहरुसँग छलफलपछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन समेत रोक्न निर्देशन दिएका थिए।

 

 

 

 

प्रकाशित: १६ कार्तिक २०७७ १५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App