जेनजी पुस्ताले गरेको आन्दोलनको परिणाम प्रतिनिधिसभा विघटन भएसँगै छलफलमा रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचन मिति तोकेपछि छलफलमा रहेका विधेयकहरु निष्क्रिय भएका हुन्।
प्रतिनिधिसभा विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधिसभा विघटन भएपछि निष्क्रिय हुन पुगेका विधेयकको संख्या ३० छ। जसमध्ये प्रतिनिधिसभामा उत्त्पत्ति भएका सरकारी २१ वटा र गैरसरकारी २ वटा विधेयक छन्। त्यस्तै राष्ट्रियसभामा उत्पत्ति भएका ७ वटा विधेयक पनि निष्क्रिय भएका छन्।
राष्ट्रियसभामा उत्पत्ति भएर पारित भएका ती विधेयक प्रतिनिधिसभामा आएका थिए। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा प्रतिनिधिसभामा विचाराधीन वा प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा गएका विधेयक निष्क्रिय हुन्छन्। यस्तो प्रावधान संविधानको धारा १११ मा छ। ‘कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा ती विधेयक निष्क्रिय हुनेछन्’ संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ।
प्रकाशित: ३० भाद्र २०८२ ०८:१२ सोमबार





