१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा विवाद : ओलीलाई त्याग देखाउने चुनौति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा तीन घण्टा लामो छलफल भए पनि निष्कर्ष भने आएन। छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागि थिए। उनीहरुले तत्कालिन नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच एकता हुँदा महत्वपूर्ण भूमिका खेलेका थिए। यसैले पनि दुई अध्यक्षको भेटमा पौडेल र शर्माको उपस्थितिको अर्थ थियो।  

बिहीबार बसेको स्थायी समिति बैठक सहमतिका लागि समय पुगोस् भन्दै शनिबारसम्म स्थगन गरिएको थियो। यसैले शुक्रबार दाहालसहित तीन नेता प्रधानमन्त्री निवास बालुवाटार पुगे तर ओलीको एउटै अडान दोहोरिरह्यो। दाहाल निकट स्रोत भन्छ, 'उहाँले उहि पुरानै कुरामा रटान दिनु भयो। प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा बाहेकका सबै विषयमा छलफल गरौं। पार्टीलाई एकतावद्ध बनाउँ।' जुन कुरा दाहाल-नेपाल समूहका लागि मान्य थिएन। यस अघि नेताहरुसँगको छलफलको क्रममा दाहाल-नेपालले ओलीले पार्टी विभाजनको अवस्थामा पुर्याुइसकेको बताएका थिए। ओलीले उही अडान दोहोर्याउने र संसद अधिवेशन अन्त्य गर्ने गतिविधि गर्दा नेताहरु संशंकित बनेका थिए।  

त्यही शंकाले दाहाललाई राष्ट्रपति निवास पुर्याएको थियो बिहीबार। संसद अधिवेशन स्थगित गर्ने पत्र डेढ घण्टामै संसद सचिवालयमा पठाएको राष्ट्रपति कार्यालयसँग पनि दाहाल विश्वस्त हुन सकेका छैनन्। ओलीले दल विभाजन सम्वन्धी अध्यादेश ल्याउन सक्ने खतरा उत्तिकै रहेको आशंका नेकपा नेताहरुसँग छ।    

नेकपाको जारी स्थायी समिति बैठकमा अधिकांस नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन्।  

बिहीबार केहीक्षण स्थायी समिति बैठकमा बसेका ओली मन्त्रिपरिषदको बैठक पछि पुन: सुरु भएको बैठकमा आएनन्। उक्त बैठकमा ओली आएका भए संसद अधिवेशन अन्त्यको निर्णयबारे उनले प्रश्न खेप्नु पर्थ्यो। उक्त दिन दाहालसँग मन्त्रिपरिषद बैठक नबस्ने र स्थायी समितिलाई नै निरन्तरता दिने सहमति भएको भए पनि ओलीले त्यो मानेका थिएनन्।

आजको भेटमा दाहालले ओलीलाई सच्चिन र त्याग देखाउन आग्रह गरेका थिए। तर ओलीले आफु सबै विषयमा छलफलको लागि तयार भएकोर मंसिरमा भएको सहमति अनुसार अघि बढ्न दाहाललाई सुझाएका थिए।

दुई अध्यक्ष आआफ्नै अडानमा रहेपछि शनिबार स्थायी समिति बैठक अगाडि पुन: छलफल गर्ने भन्दै उठेका थिए। सहमतिको लागि दिन भर भएका प्रयास पुरानै विन्दुमा आएर टुंगिएको एक नेताले बताए।  

नेकपा भित्र देखिएको विवादले पार्टी फुट्ने चिन्ता बढिरहेको छ। पार्टीमा विभाजन आउन लागेको भन्दै शुक्रबार विहान मात्र दोस्रो पुस्ताका नेताहरुले बैठक बसेर पार्टी एकतालाई बचाउन पहल थाल्ने बताएका थिए। दिउँसो मात्र नेकपाका केन्द्रिय सदस्यहरुले नेताहरुलाई मिल्न दवाव दिँदै पार्टी मुख्यालय धुम्वाराहीमा धर्ना दिएका थिए।  

 

 

प्रकाशित: १९ असार २०७७ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App