२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जातीय विभेदको आरोपमा शिक्षक पक्राउ

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारको सचिवालयलाई लिएर सामाजिक सञ्जालमा जातीय विभेद हुने शब्द पोस्ट् गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको महाबु गाउँपालिका– ४ का तर्कबहादुर सिंह पक्राउ परेका हुन्। उनी महाबु गाउँपालिकाको गीताचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अंग्रेजी शिक्षक हुन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा सिंहलाई शुक्रबार दैलेखकै दूल्लु नगरपालिका– ५ चाँदनी चोकस्थित कर्णाली होटलबाट पक्राउ गरिएको हो।

डिएसपी विश्वकर्माका अनुसार प्रदेश प्रमुखको कार्यालयले परियारको सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक गरेको थियो। सचिवालयमा कार्यरत १२ जना कर्मचारी सबै दलित समुदायकै सदस्य छन्। तिनमा पनि दुईजनाबाहेक सबै परियारका सदस्यहरू छन्। सचिवालयमा कार्यरत कर्मचारीहरूको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा परियारको आलोचना सुरु भएको थियो।

प्रदेश प्रमुख कार्यालयले सार्वजनिक गरेको सचिवालयको विवरण विनोद बुढा नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसैमा शिक्षक सिंहले कमेन्ट गरेका थिए। उनले कमेन्टमा ‘सबै डुमैडुम छन् त यार अरू कोही रहेनछन् त’ लेखेका थिए।

दलित समुदायका अगुवाहरूले उनको प्रतिक्रिया प्रदेश प्रमुख परियारभन्दा पनि समग्र दलित समुदायप्रति लक्षित रहेको भन्दै कारबाहीको माग गर्दै जातीय छुवाछुतविरुद्ध जाहेरी दिएका थिए। डिएसपी विश्वकर्माका अनुसार सिंहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित: १२ श्रावण २०८१ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App