coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पुरानो राजपा ब्युँझाउने प्रयास

एकीकरण प्रक्रियाप्रति चरम असन्तुष्टि

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय तहका नेताहरूले पुरानो राजपा ब्युँझाउने प्रक्रिया सुरु गरेका छन् । उनीहरूले तत्कालीन राजपा र समाजवादीबीचको एकीकरण र पदाधिकारी चयन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका हुन् ।

असन्तुष्ट पक्षधरहरूले मंगलबार काठमाडौंमा बैठक गरी पुरानो राजपा ब्युँझाउने निष्कर्ष निकालेका छन् । त्यसको नेतृत्व राजकिशोर यादवले गरेका छन् । यसमा अनिल झाको पनि समर्थन रहेको असन्तुष्ट पक्षधर नेताहरूले जनाएका छन् । तर झाले यस विषयमा केही बोलेका छैनन् ।

निर्वाचन आयोगमा केन्द्रीय समितिका लागि पुराना राजपाले २४ र पुरानो समाजवादीले २२ जनाको नाम बुझाएको छ । २४ जनाभित्र नसमेटिएका पुराना राजपाका नेताहरू तत्कालीन राजपाको नेतृत्वसँग असन्तुष्ट छन् । नाम सिफारिस गर्दा गम्भीर लापरबाही भएको, पार्टीका लागि योगदान गरेका भन्दा नातेदारहरूलाई प्राथमिकता दिएको आरोप लगाएका छन् ।

२४ जनाभित्र महन्थ ठाकुर र राजेन्द्र महतोनिकट आठ÷आठ नेता परेका छन् । महेन्द्र यादव र शरतसिंह भण्डारीनिकट दुई÷दुई जना परेका छन् तर राजकिशोर र झानिकट एक जना पनि नाम परेका छैनन् । ठाकुरले आफ्ना सम्धी उमाकान्त झालाई २४ जना भित्र नाम सिफारिस गरेकोमा असन्तुष्ट नेताहरू आक्रोशित छन् ।

तत्कालीन राजपाका सहमहामन्त्री डाक्टर सुरेन्द्र झाले सामाजिक सञ्जालमा भनेका छन, ‘कार्यसमितिमा मण्डले, झोले, खबरीलाल, नातेदार, मालदार, भ्रष्टचारी एवं कमिसनखोरहरूको उल्लेख्य संख्या रहेको छ ।’ उनको यो असन्तुष्टि २४ जनाको सूचीमा राखिएको नामसँग हो ।

तत्कालीन राजपाका सचिव राहुल यादवले कानुनी र राजनीतिक रूपमा राजपा अहिले पनि कायमै रहेको बताउँदै देशभरबाट कार्यकर्ताहरूले राजपालाई निरन्तरता दिनुपर्ने आवाज उठाएको बताउँदै राजपालाई निरन्तरता नदिए पुरानो राजपाका अधिकतर कार्यकता जनता समाजवादी पार्टीमा नजाने बरु अरू कुनै पार्टीमा प्रवेश गर्ने ठाकुवा गरे । ‘देशभरका राजपाका कार्यकर्ताहरको माग र चाहना राजपालाई निरन्तरता दिऔं भन्ने छ,’ उनले भने, ‘यदि हामीले राजपालाई निरन्तरता दिन सकेनौं भने राजपाका धेरै कार्यकर्ता बरु अर्को पार्टीमा जान्छन् । जनता समाजवादीमा जान्नन् ।’

वैशाख १० गते तत्कालीन राजपा र समाजवादीबीच पार्टी एकीकरण गरी जनता समाजवादी पार्टी गठन गर्ने सहमतिमा राजकिशोर र अनिलले हस्ताक्षर गरेका थिएनन् । यतिमात्र होइन, एकीकरण प्रक्रियाका सबै बैठकमा उनीहरू अनुपस्थिति हुँदै आएका छन् । तत्कालीन राजपाका उपाध्यक्ष गजाधर यादव, महासचिव सिपि सिंह, महासचिव रामलाल सुतियारको पनि सक्रिय सहभागी नभएको तत्कालीन सचिव राहुलले बताए ।

तत्कालीन राजपाका अध्यक्ष मण्डलका संयोजक शरतसिं भण्डारीले आठ सदस्यीय केन्द्रीय समिति र एक सय ३५ सदस्यीय पदाधिकारीमा एक÷दुई जनाले असन्तुष्टि पोख्दैमा केही फरक नपर्ने बताए । उनले भने, ‘दुई पार्टीबीचको एकीकरण विधिवत रूपमा भएको छ । यसमा फाट्टफुट्ट कसैको अन्तुष्टि हुन सक्छ ।’ आफू अध्यक्ष मण्डलको संयोजक भएको बेला दुई पार्टीबीच एकीकरण भएकोमा आफू निकै खुसी भएको उनले बताए ।

तत्कालीन समाजवादीका केही नेताहरू पनि असन्तुट छन् । ‘आन्दोलन हामीले गर्नुपर्ने, सहिद हामी हुनुपर्ने, भोट हामीले दिनुपर्ने तर अवसर पहाडिया समुदायले मात्रै पाउने ?,’ ती नेताले भने, ‘२२ जनाभित्र कम से कम ११ जना मधेसी मूलका र ११ जना पहाडिया मूलको भएको भए हामी सहमत हुने थियौं ।’ तर राजपाका असन्तुष्ट नेताहरू झैं पुरानो समाजवादी ब्युँझाउने अभियानमा भने उनीहरू लागेका छैनन् ।

प्रकाशित: २८ जेष्ठ २०७७ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App