७ वैशाख २०८१ शुक्रबार
राजनीति

गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक

गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : सन्देश/नागरिक

गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तयार पारेको छ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना तयार पारेको हो । आर्थिक वर्ष २०८०/८१ सम्मका लागि तयार पारिएको प्रथम पञ्चवर्षीय योजना समेटिएको पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले आइतबार लोकार्पण गरे ।

प्रदेश समृद्धिको आधारशिला तयार पार्ने उद्देश्यले प्रदेशको पञ्चवर्षीय योजना बनाइएको नीति तथा योजना आयोगले जनाएको छ । १५औं राष्ट्रिय योजनाका लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सहयोग पु¥याउनेगरी योजना बनाएको समेत आयोगको भनाइ छ ।

पञ्चवर्षीय योजना समाजवादउन्मुख, उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रस्थान मार्ग खोज्न, पर्यटन व्यवसायी र स्थानीय उत्पादकबीच सघन सहकार्य गर्न, कृषिमा सिँचाइको विस्तार, यान्त्रीकीकरण र व्यवसायीकरण गरी भरपर्दो र उच्च उत्पादकत्व दिने कृषि प्रणालीको विकास गर्न, दिगो ऊर्जा सुरक्षाको व्यवस्था गर्न, कृषि प्रशोधन तथा खनिजजन्य पदार्थको उत्खनन् र प्रशोधन गर्ने मझौला तथा ठूला उद्योग स्थापना गर्न, निर्धारित समयमै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षा लागू गर्नलगायतका विषय सम्बोधन गरेर तयार पारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्माले जानकारी दिए ।

योजना पुस्तकको लोकार्पण गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले योजना बनाउनु मात्र ठूलो कुरा नभई यसको कार्यान्वय मुख्य कुरा भएको बताए । योजनाले प्रदेशलाई पाँच वर्षमा कहाँ पुर्याउने ? भनेर तत्कालीन, १५ वर्षमा कहाँ पुर्याउने भनेर मध्यमकालीन र २५ वर्षमा कहाँ पुर्याउने भनेर दीर्घकालीन लक्ष्यसमेत बनाएको उनले बताए । ‘योजना बने पनि देशको कर्मचारी प्रशासन र तिनले गर्ने विकासको कार्यान्वयन अहिले पनि पहिलेजस्तै समस्याग्रस्त छ,’ उनले भने, ‘त्यसैले अहिलेसम्म वाञ्छित प्रगति गर्न नसकेको सत्य हो, अब यो जालो तोडेर निर्धारित लक्ष्य पूरा गर्नुछ ।’

मुख्यमन्त्री गुरुङले पञ्चवर्षीय योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय तीनवटै सरकार एकैतिर फर्किनुपर्ने बताए । ‘अहिले पनि तीनवटा सरकार तीनतिर फर्किएर हिँडिरहेका छन्,’ उनले भने, ‘हामीले योजनारूपी एउटा राम्रो बच्चा त जन्मायौं, अब यसलाई हुर्काउने प्रदेश सरकारको जिम्मेवारी हो, स्थानीय तहले पनि यसको कार्यान्वयनमा सघाउनुपर्छ, संघको त झन् यसको कार्यान्वयनमा महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले तीनवटै सरकार एक मुख, एक दिशा र एकै पाइला गरेर अगाडि बढ्नुपर्छ ।’ उनले प्रदेशको योजना आयोगलाई हिन्दूको गीता, मुस्लिमको कुरान, क्रिश्चियनको बाइबलजस्तै भएको बताए ।

गण्डकी प्रदेशको पञ्चवर्षीय योजना दक्षिण एसियाकै उत्कृष्ट योजना भएको उपाध्यक्ष डा.शर्माले दाबी गरे । हाम्रोजत्तिको योजना दक्षिण एसियामा कहीँ पनि छैन,’ उनले भने, ‘यसको कार्यान्वयन सबै मिलेर गरौं, हाम्रो लक्ष्य प्राप्त हुन्छ ।’

प्रकाशित: १९ जेष्ठ २०७७ ००:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App