७ वैशाख २०८१ शुक्रबार
राजनीति

शीर्ष नेताहरूको आह्वान, घरभित्रै बसेर कोरोना भगाऔं

काठमाडौ - राजनीतिक दलका शीर्ष नेताहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सबै नेपालीलाई घरभित्रै बस्न अपिल गरेका छन्। कोरोना संक्रमणले विश्व आक्रान्त भइरहेका बेला सरकारले मुलुकमा जोखिम न्यूनीकरणका लागि साताव्यापी राष्ट्रिय लकडाउन आह्वान गरेका बेला दलका शीर्ष नेताहरूले पनि सरकारको कदमलाई साथ दिन घरभित्रै बसेर कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन जनतालाई अपिल गरेका हुन्।

शीर्ष नेताहरूले केही दिन घरभित्रै बसेर कोरोना संक्रमणको सम्भावित जोखिमबाट व्यक्ति–व्यक्ति र सिंगो मुलुकलाई जोगाउन सकिने भन्दै विषम परिस्थितिमा संयम अपनाउन सबैलाई आग्रह गरेका छन्। केही दिनअघिसम्म बिहानदेखि बेलुकासम्म नेता तथा कार्यकर्तासँगको भेटघाट र सार्वजनिक कार्यक्रममै बिताउने गरेका शीर्ष नेताहरू अहिले घरमै बसेका छन्। उनीहरूले आफूहरू अहिले अध्ययनसहित रचनात्मक काममा लागेको जनाउँदै जनतालाई पनि कोरोनाविरुद्धको लडाइँमा सफलता पाउने सकारात्मक सोच राख्न आग्रह गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि निवासमै बसेर सरकार सञ्चालन गरिरहेको जनाउँदै कोरोना संक्रमण हुन नदिन सबै नेपालीलाई घरभित्रै बस्न आग्रह गरेका छन्। ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु,’ ओलीले ट्विटबाट जनतालाई आह्वान गर्दै भनेका छन्, ‘तपार्इं (जनता) हरु पनि घरभित्रै बस्नुहोस्।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई संक्रमणबाट जोगिन घरभित्रै बसेर अधिकतम सावधानी अपनाउन अपिल गरेका छन्। ‘आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनी कोरोना भाइरसले विश्वभरि नै महामारीको रुप लिएको हामी सबैलाई थाहा नै छ,’ देउवाले ट्विटमार्फत आह्वान गरेका छन्, ‘यो कठिन घडीमा म तपार्इंहरू सबैलाई घरभित्रै बसेर अधिकतम सचेतना अपनाउन हार्दिक अनुरोध गर्छु।’ देउवाले केही दिनअघि आफ्नो पार्टीका सबै निकायलाई कोरोनाविरुद्ध सचेतना अपनाउन नौबुँदे परिपत्र पठाएका थिए।

त्यस्तै सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि कोरोनाविरुद्ध पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैलाई आह्वान गरेका छन्। कोरोना संक्रमणबाट जोगिन सावधानी र सचेतना अपनाउन जोड दिँदै दाहालले भनेका छन्, ‘संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गर्छु। पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णय दृढतापूर्वक पालना गर्नुहोस्।’

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एकताको बलमा नै कोरोना भाइरसविरुद्धको लडाइँमा विजय प्राप्त हुने जनाएका छन्। ‘आज कोरोनाविरुद्ध जे जस्तो सहमति, सहयोग र सहकार्यको वातावरण बनेको छ, निश्चय नै खुशीको कुरा हो। सम्बन्धित सबैलाई धन्यवाद छ,’ उनले ट्विट गरेका छन्, ‘यही एकताको बलमा नै हामीले कोभिड–१९ सँगको लडाइँमा विजय प्राप्त गर्नेछौं।’

यसैगरी कांग्रेस उपसभापति विमलेन्द्र निधिले कोरोनालाई दुष्मनको संज्ञा दिँदै घरभित्रै बसेर यसको पन्जाबाट जोगिन सबैलाई आग्रह गरेका छन्। ‘यो एउटा सत्याग्रह नै हो। केही दिन घरभित्रै बसौं,’ निधिले ट्विटमार्फत आग्रह गरेका छन्, ‘हामी सबै केही दिन घरभित्रै बसेर कोरोना भाइरस नामक दु्ष्मनबाट बचौं।’

प्रकाशित: १३ चैत्र २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App