१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रदेश राजधानीबारे केही समय छलफल नहुने

तीन नम्बर प्रदेश सभा बैठकमा सहभागी सांसदहरु ।

मकवानपुर– लामो रस्साकसी पछि प्रदेश सभामा प्रतिबेदन पेश भएपनि तीन नम्बर प्रदेश राजधानीको टुङ्गो लाग्न अझै केही समय लाग्ने भएको छ। झण्डै डेढ महिनापछि सोमबार बसेको बैठकमा पनि राजधानीबारे बिषय प्रवेश नै नगराईएपछि थप समय पछि धकेलिने निश्चित भएको छ।

प्रदेश सभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएपनि झण्डै तीन महिनापछि असोज २२ गते प्रदेश सभा बैठकमा पेश भएको थियो। मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख राजनीतिक दलहरुसँग परामर्श गरि सहमतिमा स्थायी राजधानी तोक्न सरकार लागि परेको बताउँदै आएका छन्। मुख्यमन्त्री पौडेल संघीयताको मर्मअनुसार गृहनगर हेटौंडामै स्थायी राजधानी तोकेर विकासमा केन्द्रीत हुनुपर्नेमा अडानमा छन्। तर काठमाडौं उपत्यका आसपासका प्रदेश सांसदहरु राजधानीलाई प्रतिष्ठाको मुख्य बिषय बनाउँदै आफुहरुको सहजताका लागि समेत उपत्यका नजिकै राख्नुपर्ने बताउँदै आएका छन्।

यसैबीच, मुख्यमन्त्री डोरमणि पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल कतार गएकाले अझै केही समय राजधानीबारे कुनै छलफल नहुने निश्चित छ। सोमबार बसेको बैठकमा ५ वटा विधेयकबारे प्रतिवेदन समेत पेश भएको छ। दोस्रो अधिवेशनको ५७ औं बैठकमा ५ वटा विधेयकमाथि विषयगत समितिले प्रतिवेदन पेश गरेका हुन्।

बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेश संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिवेदन र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन सम्बन्धी विधेयकबारे प्रतिवेदन पेश गरे।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले प्रदेश खेलकुद विकास सम्बन्धी विधेयकको प्रतिवेदन र प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र सञ्चालन सम्बन्धी विधेयकको प्रतिवेदन पेश गरेका थिए। अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश कार्य सञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयकमाथि प्रतिवेदन पेश गरेका थिए।

कार्यवाहक मुख्यमन्त्री जम्कट्टेल नियुक्त

यसैबीच, तीन नम्बर प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी शालिकराम जम्कट्टेलले पाएका छन्। मुख्यमन्त्री डोरमणि पौडेल आइतबार राति कतार प्रस्थान गरेकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी जम्कट्टेलले पाएका हुन्। प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेको प्रदेश प्रमुख कार्यालयको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाएका थिए। त्यस्तै, सभामुख श्रेष्ठले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित पदमुक्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र समेत पढेर सुनाएका थिए। साथै बैठकमा प्रदेश प्रमुख कार्यालयको विधेयक प्रमाणिकरण सम्बन्धी पत्र र प्रदेश सभा सचिव नियुक्ति सम्बन्धी पत्र पनि पढेर सुनाएका थिए। प्रदेशसभा बैठक मंगलबार दिउँसो बस्ने सभामुख श्रेष्ठले जानकारी गराएका छन्।

प्रकाशित: १० मंसिर २०७५ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App