१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल–भारत सम्बन्ध जुम्ल्याहा भाइकाे जस्तोः यचुरी

तस्बिरः रासस

काठमाडौं–भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले नेपाल भारत संबन्धमा कोही ठूलो र सानो नभएको भन्दै समान हैसियतमा रहेको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको एक अन्तरक्रियामा याचुरीले भने, ‘नेपाल–भारत सम्बन्धमा कोही ठूलो र सानो छैन, जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध छ।’ भारतीय कम्युनिष्ट आन्दोलनको अनुभवसम्बन्धी अन्तक्र्रियामा मन्तब्य राख्दै याचुरीले भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको पनि बताए।

नेपालमा लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन हुनुले विश्वकै कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताउँदै महासचिव येचुरीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई कम्युनिष्टको शैदान्तिक आधारलाई मनन गर्दै सत्ता सञ्चालन गर्न सुझाव पनि दिए। ‘सिद्धान्तमा गल्ती नभई समाजवाद लागू गर्न नसकेकामा सोभियत सङ्घको अवसान भएको होे। गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु गल्ती हुनेछ,’ याचुरीले भने, ‘जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा सुधार ल्याउन आवश्यक छ।’

अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिने आफ्नो अनुभव उनले सुनाएका थिए। राजनीतिक, साङ्गठनिक र अन्य कारणले भारतीय कम्युनिष्ट पार्टीको आन्दोलन र कार्यसूचीलाई प्रभावकारी तुल्याउन नसकिएको उनले स्वीकार गरेका थिए।

देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नु पर्ने भन्दै यचुरीले नेपालमा देखिएको कम्युनिष्ट पार्टीको आन्दोलन निकै प्रभावकारी बनेको विचार राखेका थिए। अभ्यास र सिद्धान्तबीच तालमेल मिलाएर लैजान आवश्यक रहेको सुझाव दिँदै महासचिव येचुरीले सङ्गठनलाई अघि बढाउने सिलसिलामा आउने चुनौतीको समयमै सम्बोधन गर्न सक्नु पर्ने धारणा राखेका थिए। 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले भारतीय कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच धेरै पुरानो र घनिष्ठ सम्बन्ध रहेको बताएका थिए। नेपालमा प्रजातन्त्रका लागि भएका विभिन्न आन्दोलनमा महासचिव येचुरीलगायत भारतीय वामपन्थी नेताको निकै ठूलो योगदान रहेको उनले स्मरण गरेका थिए। 

 

प्रकाशित: ९ कार्तिक २०७५ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App