२१ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

कुलिङ पिरियडमाथिको छल : सभामुखले मागे छानबिन समितिमा रहने सदस्यको नाम

‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् ।  

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार सभामुख घिमिरेले नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना समेत सहभागी थिइन् ।  

सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका थिए । उनले समितिले गर्नु पर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग गरेका थिए ।  

प्रमुख दलहरूले संसदीय छानबिन समिति गठन गर्न नै उपर्युक्त हुने सुझाव दिएका छन् । उनीहरूले विधेयकको व्यवस्था तोडमोड गरिएको विषय व्यवस्थापिकाको भएकाले सरकारको धारणा माग गर्न आवश्यक नभएको बताए । तीन वटै प्रमुख दलका नेताहरूले आ–आफ्ना दलसँग छलफल गरेर सभामुखलाई जानकारी गराउने बताएका छन् ।

आगामी असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठक अगावै दलहरूबीच समझदारी गरेर कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामा समितिको प्रस्ताव गर्ने दलहरूबीच सहमति भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबार बसेको समितिको बैठकका निर्णयबारे मौखिक जानकारी गराए पनि औपचारिक जानकारी नआएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित: १९ असार २०८२ १७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App