नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन समयमा हुन नसक्नुको कारणसहित केन्द्रीय समिति बैठकमा एक दर्जन प्रश्न राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा १० महिनापछि सोमबार सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै आगामी मंसिरभित्र महाधिवेशन हुन नसक्ने भए त्यसको चित्तबुझ्दो जवाफ दिन माग गरेका हुन्।
‘हामी अहिले महाधिवेशनको वर्षमा छौं। २०८२ मंसिरमै १५औं महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु,’ कोइरालाले भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन, सभापतिज्यू र पदाधिकारीले चित्तबुझ्दो जवाफ दिनुपर्यो।’ कोइरालाले २०७९ सालमा संघ र प्रदेश निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेको र अहिले किन एमालेसँग सरकारमा रहेको भन्ने प्रश्न पनि उठाएका छन्। आफूले कांग्रेस र एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने धारणा राखेको जनाउँदै कोइरालाले भने, ‘तर मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ। के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो?’ संविधान संशोधनका लागि अहिले सत्ता गठबन्धन निर्माण भएको भए सात बुँदे सहमतिअनुसार संविधान संशोधनको मुद्दा कहाँ पुग्यो?’
पार्टी अनुशासन समितिको बैठकमा चितवनका दिनेश कोइरालाका विषयमा आफ्नो नाम पनि जोडिएपछि उनले तीव्र असन्तुष्टि जनाए। अनुशासन समितिमा रहेका सदस्यहरू कमजोर रहेको जनाउँदै कोइरालाले अनुशासन समितिले निष्पक्ष काम गर्नेमा प्रश्न उठाए। ‘एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ, कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ,’ उनले भने, ‘कारबाहीमा किन विभेद?’
अनुशासन समितिको संयोजकले आफूखुसी व्यक्तिगत रूपमा चिठी पठाएको उल्लेख गर्दै कोइरालाले पर्सा–१ मा महामन्त्रीले लेखेको पत्रलाई जिल्ला सभापतिले किन नमानेको भन्ने प्रश्न गरे। ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो?’ उनले बैठकमा भने, ‘सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो। १० वर्ष नपुगेकाले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन।’
उपनिर्वाचनहरूमा गरिएको चुनावी तालमेलप्रति पनि खुसी नदेखिएका कोइरालाले भने, ‘२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरियो। फेरि २०८० सालको उपनिर्वाचन मा तनहुँ–१ मा कांग्रेसलाई र चितवन–२ मा एमालेका उम्मेदवारलाई मत माग्दै कांग्रेस सभापति र एमाले अध्यक्षको हस्ताक्षरको विज्ञप्ति आयो। यो कस्तो राजनीति थियो?’
निर्वाचनमा गठबन्धनका नाममा निष्ठावान् र इमानदार नेतालाई टिकटबाट वञ्चित गरियो र अहिले अनुशासन कारबाहीको कैंची चलाएर उनीहरूको राजनीति समाप्त गर्न खोजिएको आरोप कोइरालाले लगाएका छन्। ‘पार्टी बलियो बनाउने हो भने एकपटक सबै साथीलाई सचेत गराऔं र रुख चिह्नको उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा जो साथी स्वतन्त्र रूपले उम्मेदवार बन्नुभयो। उहाँहरू सबैलाई एकपटकलाई माफी दिऔं,’ उनले भने। पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर बनेकाले नबनोस् भनेर १४औं महाधिवेशनमा सभापतिमा पराजित भएलगत्तै आफूले भागबन्डाको राजनीति गर्दिनँ भनेको पनि उल्लेख गरे। सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै फरक मत नराखेको उल्लेख गर्दै उनले भने, ‘मैले फरक मत राखिनँ। मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।’
सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्तिलाई अहिले पनि सर्लाही सभापतिको जिम्मेवारीमा कायम रहेको प्रति पनि कोइरालाले प्रश्न उठाए। ‘के कारणले उहाँलाई हटाइएको छैन?’ उनले भने, ‘यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीले बुझ्नुभएको छ?’ कोइरालाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघको महाधिवेशन गराउन जोड दिएका छन्। २०८१ भदौ १६ गतेपछि आकस्मिकताबाहेक सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका छन्।
त्यस्तै महामन्त्री गगनकुमार थापाले केन्द्रीय समितिका एजेन्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरणको अवस्थाको बैठकलाई जानकारी गराए। बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठका साथै सदस्यहरू बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिंह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राखेका छन्। बैठक मंगलबार बिहान ११ बजे पुन: पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
प्रकाशित: १७ असार २०८२ ०७:२७ मंगलबार





