२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री र मन्त्रीले योजना हाल्न लगाए बजेट दिएनन् : पूर्वमुख्यमन्त्री राई

कोशी प्रदेश सरकारले ल्याएको बजेटलाई हालसम्मकै खराब भन्दै टिप्पणी गर्दै आएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले त्यसका आधारहरु प्रस्तुत गरेका छन् । आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री राईले मुख्यमन्त्री र मन्त्रीहरूले आफूसँग भेटेरै योजना सिफारिस गर्न आग्रह गरेको तर, आफूले सिफारिस गरेको एउटा पनि आयोजनालाई बजेट नदिएको गुनासो गरे ।  

पूर्वमुख्यमन्त्री राईले यो वर्षको बजेटका लागि आफूले १० वटा योजना सिफारिस गरेकोमा कुनै पनि योजनालाई सरकारले बजेटमा नसमेटेको बताए ।

‘मुख्यमन्त्री र मन्त्रीहरूले आफूसँग भेटेरै योजना हाल्न लगाउनु भयो’ उनले भने ‘तर, यो वर्षको बजेटमा मैले हालेका १० मध्ये कुनै पनि आयोजना बजेटमा परेन ।’ यस्तै प्रदेश सरकारले ल्याएको ८ वटा बजेटमा कुनै पनि वर्ष यतिधेरै बजेट एउटै जिल्लामा केन्द्रित नभएको राईले दाबी गरे । उनले गतवर्ष नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेतीले आफ्नो क्षेत्रमा धेरै बजेट हाले पनि प्रतिशतका हिसावले अहिले जति नभएको राईको दाबी छ । राईले भने, ‘प्रदेशको ८ वटा बजेटको हिसाव निकालौं कुनै पनि वर्ष यो वर्षको जति एउटै जिल्लामा बजेट केन्द्रित भएको रहेछ भने म विनियोजन विधेयकको छलफलमा केहिलै बोल्नेछैन ।’  

बजेट विनियोजनमा मनोमानी गरेको, मन्त्रालयको कार्यक्षेत्र विपरितका आयोजना राखेको मुख्यमन्त्री र मन्त्रीले एउटै जिल्लामा बजेट केन्द्रिकृत गरेको र  योजना हाल्न लगाएर बजेट नदिएका कारण यो वर्षको बजेटलाई आफूले झुरेष्ट भनेको स्पष्ट पारे  । पूर्वमुख्यमन्त्री राईले सत्तामा हुँदा समर्थन र प्रतिपक्ष हुँदा विरोध गर्ने नभई आफूले सरकारको कामका आधारमा विगत देखि नै बिरोध र समर्थन गर्दै आएको बताए । 

प्रकाशित: १६ असार २०८२ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App