२६ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

रविमाथि राजनीतिक प्रतिशोधको गन्ध आयो, यो ठिक भएन: बाबुराम

<br>

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहारमा राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन्।

शनिबार रास्वपाको केन्द्रीय कार्यालय, बनस्थली पुगेर पार्टीले चलाएको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाउँदै उनले यस्तो बताएका हुन्।

डा. भट्टराईले भने, ‘अदालतले दोषी प्रमाणित नगरेसम्म कोही पनि निर्दोष हुन्छ भन्ने कानुनी सिद्धान्त छ, तर जुन ढंगले उहाँलाई एकपछि अर्को मुद्दामा अल्झाउने काम भइरहेको छ, यसमा राजनीतिक प्रतिशोधको गन्ध आयो। यो ठिक भएन।’

महाभारतको प्रसंग निकाल्दै भट्टराईले पुराना शक्तिहरूले नयाँ र वैकल्पिक शक्तिहरूको ‘भ्रूण हत्या’ गर्न खोजेको आरोप लगाए।

‘कृष्णको जन्म हुँदैछ र उसले आफ्नो मृत्यु गराउँछ भन्ने थाहा पाएर कंसले बहिनीको गर्भबाटै कृष्णलाई मार्न खोजे जस्तै, पुराना शक्तिहरूले नयाँ उदयमान शक्तिहरूलाई त्यसैगरी भ्रूण हत्या गर्न खोज्छन्,’ उनले भने।

वैकल्पिक राजनीतिको सूत्रधारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका भट्टराईले यस्ता गतिविधिले उल्टै नयाँ शक्तिहरूको उदयका लागि आधार तयार पार्ने उल्लेख गरे।

‘उहाँहरूले जति गलत हर्कत गर्नुहुन्छ, त्यसले आम जनतालाई बुझाउँदैछ र प्रकारान्तरले नयाँ शक्तिहरूको उदयको निम्ति आधार तयार पार्दैछ,’ उनको भनाइ थियो।

प्रकाशित: १४ असार २०८२ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App