आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको समूह ‘सी’ को खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
भारतको कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा स्कटल्याण्डले प्रस्तुत गरेको २०८ रनको विशाल लक्ष्य पछ्याएको इटाली १३४ रनमै समेटियो।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको बलियो योगफल तयार पारेको थियो।
स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सीले विष्फोटक इनिङ खेले। उनले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले सर्वाधिक ८४ रन बनाए।
त्यस्तै, ब्रेन्डन म्याकमुलेनले १८ बलमा ४ छक्कासहित अविजित ४१ रनको योगदान दिए भने अर्का ओपनर माइकल जोन्सले ३७ रन बनाए।
कप्तान रिची बेरिङटनले १५ र माइकल लिस्कले ५ बलमा २२ रनको छोटो तर आक्रामक इनिङ खेल्दै टिमलाई २०० रनको आँकडा पार गराए।
बलिङतर्फ इटालीका अली हसन, ग्रान्ट स्टिवर्ट, थोमस ड्राका र जेजे स्मट्सले समान १-१ विकेट लिए पनि स्कटल्याण्डको रन गति रोक्न सकेनन्।
२०८ रनको विजय लक्ष्य पछ्याएको इटालीको सुरुवात खराब रह्यो। ओपनर जस्टिन मोस्का शून्य रनमै आउट भए। इटालीका लागि बेन मनेन्टीले ३१ बलमा ५२ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन्। ह्यारी मनेन्टीले ३७ र जेजे स्मट्सले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
इटालीको इनिङ १६.४ ओभरमा १३४ रनमा समेटियो।
इटालीलाई सस्तैमा समेट्न स्कटल्याण्डका माइकल लिस्कले घातक बलिङ गरे। ४ ओभर बलिङ गरेका उनले १७ रन मात्र खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए। त्यस्तै मार्क वाट्सले २ तथा ब्राड करी, ब्राड ह्विल र ओलिभर डेभिडसनले १-१ विकेट लिए।
खेलमा ब्याटिङतर्फ अविजित २२ रन र बलिङतर्फ ४ विकेट लिएका स्कटल्याण्डका माइकल लिस्क प्लेयर अफ द म्याच घोषित भए।
यो जितसँगै स्कटल्याण्डले समूह चरणमा महत्त्वपूर्ण दुई अंक जोडेको छ।
प्रकाशित: २६ माघ २०८२ १४:५३ सोमबार





