विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
चार टोली सहभागी जय ट्रफीको लिगमा शीर्ष दुई स्थानमा रहँदै आर्मी र नेपाल पुलिसले लगातार दोस्रो संस्करण उपाधि भिडन्त तय गरेका हुन्। शुक्रबार भएको लिगको तेस्रो तथा अन्तिम खेलमा पुलिसले बागमती प्रदेशलाई आठ विकेटले हराउँदै लिगको दोस्रो स्थानमा उक्लियो। दिनको अर्को खेलमा आर्मी र एपिएफ क्लबबीच भने ‘ड्र’ भयो।
आगामी प्रतिनिधि सभा निर्वाचनपछि फाइनल आगामी मार्च ५ तारिखमा त्रिवि क्रिकेट स्टेडियममा हुनेछ। लिग चरण दुई दिवसीय फरम्याटमा भएको थियो तर फाइनल भने तीन दिवसीय फरम्याटमा हुनेछ। पहिलो संस्करणमा पुलिसले आर्मीले हराउँदै उपाधि उचालेको थियो। यसपल्ट पनि यी दुई टोली नै फाइनलमा पुगेका छन्। पुलिसले दुई जित निकाल्दा आर्मीले एक जित र दुई ‘ड्र’ को नतिजा सामना गर्यो।
समान तीन खेलबाट आर्मीले ६६ अंक र पुलिसले ६५.५ अंक प्राप्त गर्दै शीर्ष दुई स्थानमा रहे। आर्मीले पहिलो खेलमा पुलिसलाई ९ विकेटले हराउँदै दोस्रो संस्करणको यात्रा तय गरेको थियो तर दोस्रो खेलमा बागमतीविरुद्ध ‘ड्र’ को नतिजा सामना गर्यो। लगातार दोस्रो ‘ड्र’ का बावजुद आर्मी फाइनलमा स्थान बनाउन सफल भयो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा बागमतीले ८९ रनको सामान्य लक्ष्य दिएको थियो। त्यो लक्ष्य पुलिसले दुई विकेटको क्षतिमा पूरा गर्यो। पुलिसको जितमा करण केसीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दुई सय ८१ रनको लक्ष्य दियो। जबाफी लक्ष्य पछ्याएको एपिएफ सात विकेटको क्षतिमा दुई सय २८ रनको अवस्थामा थियो।
दुवै टोलीका कप्तानले इनिङ समाप्तिको सहमति गरेपछि खेल ‘ड्र’ भयो। यो खेलमा आर्मीका बसिर अहमद प्लेयर अफ दी म्याच भए। उनले पहिलो इनिङमा २० रन र दोस्रो इनिङमा १०१ रनको शतकीय योगदान दिए। उनको नाममा एक विकेट पनि रह्यो। यसै खेलमा आर्मीकै ओपनर तृतराज दासले पनि शतक पूरा गरेका थिए।
तृतराजकै शतकमा आर्मीले पहिलो इनिङमा ९ विकेटको क्षतिमा दुई सय ५२ रनमा इनिङ समाप्तिको घोषणा गर्यो। एपिएफ भने पहिलो इनिङमा एक सय ४० रनमै अलआउट भयो। आर्मीले एक सय १२ रनको अग्रतासहित दोस्रो इनिङ सुरु गरेको थियो। आर्मीले दुई सय ६८ रनमा ८ विकेट गुमाउँदा दोस्रो इनिङ समाप्तिको घोषणा गर्यो। यससँगै एपिएफले दुई सय ८१ रनको विशाल लक्ष्य पायो।
साथै यो खेल ‘ड्र’ को संघारमा देखिन्थ्यो। तर, मध्य क्रमका ब्याटर लोकेश बमले ६५ बलमा ६४ रनको आक्रामक इनिङ खेल्दै लक्ष्यनजिक पुग्ने प्रयास गरे। उनको इनिङमा ६ छक्का र दुई चौका रह्यो। सुमित महर्जन ३१ रनमा नटआउट रहे। उनले ३१ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। शीर्ष तीन ब्याटर दीपक बोहोराले ३२, कप्तान रोहित पौडेलले ३५ रन र आसिफ शेखले ३१ रनको योगदान दिए। आर्मीका स्पिनर नरेन साउदले पाँच विकेट लिँदै एपिएफको इनिङलाई कमजोर बनाउने प्रयास गरे। तर, उनको यो प्रदर्शन आर्मीको जितका लागि पर्याप्त भएन। साहब आलम र पवन कार्कीको नाममा समान एक विकेट रह्यो।
त्यसअघि आर्मीको दोस्रो इनिङमा मध्य क्रमका ब्याटर बसिर १०१ रनमा नटआउट रहे। उनको इनिङमा १२ चौका रह्यो। कप्तान विनोद भण्डारीले ६३ रन र इमरान शेखले ४१ रनको योगदान दिए। ओपनर शेखले पहिलो इनिङमा पनि ७१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्रिवि क्रिकेट मैदानमा पुलिस र बागमतीबीच दुवै इनिङमा ठूलो योगफल बन्न सकेन। पहिलो इनिङमा बागमती १८५ रनमा नै अलआउट भयो। पुलिसले ३३४ रनमा आठ विकेट गुमाएपछि इनिङ समाप्ति घोषणा गर्यो। पुलिसले एक सय ४९ रनको अग्रतासहित बागमतीलाई दोस्रो इनिङका लागि निम्तो दिएको थियो। तर, दोस्रो इनिङमा बागमतीले सुधारिएको ब्याटिङ गर्यो तर बागमती दुई सय ३७ रनमा अलआउट भएपछि पुलिसले सामान्य लक्ष्य पायो।
ओपनर सोहेल कुँवरले ३५ रन र करणले २७ रनको अविजित इनिङ खेल्दै पुलिसलाई जित दिलाए। शंकर राना २७ रनमा बोल्ड भए। शंकरले पहिलो इनिङमा ४८ रनको योगदान दिएका थिए। पहिलो इनिङमा कुशल भुर्तेलले ९६ रनको उत्कृष्ट प्रदर्शन गरे। कप्तान आरिफ शेखले ५३ रन र दिलसाद अलीले ५१ रनको अर्धशतकीय प्रदर्शनपछि पुलिसको पहिलो इनिङ राम्रो रह्यो।
प्रकाशित: १६ फाल्गुन २०८२ ०७:४२ शनिबार





