२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

पदका निम्ति तँछाडमछाड छ: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी र आन्दोलनमा विचलन आएको बताएका छन्। उनले पार्टीभित्र पद, प्रतिष्ठा र स्वार्थका लागि अस्वस्थ प्रतिस्पर्धा (तँछाडमछाड) चलेको स्वीकार गरेका छन्।

शनिबार भक्तपुरमा आयोजित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार कमरेड कृष्णलाल ‘गोजा’ श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

‘सबैतिर पदका निम्ति, स्वार्थको निम्ति, आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाडमछाड गरेको देखिन्छ,’ दाहालले भने, ‘आजभोलि पार्टीमा, आन्दोलनमा धेरै नै किसिमका विचलनहरु सैद्धान्तिक, राजनीतिक, व्यावहारिक र सांस्कृतिक रुपमा देखिएका छन्।’

उनले विगतमा जनयुद्ध र जनआन्दोलनका बेला प्रदर्शन भएको त्याग, तपस्या र समर्पण भावमा अहिले खडेरी परेको बताए। ‘हामीले जतिबेला कम्युनिस्ट पार्टी स्थापना भएर अगाडि जाँदै गर्दा जुन आदर्श, समर्पण, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं, आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ,’ उनले भने।

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकले पनि पार्टीमा विचलन आएको निष्कर्ष निकालेको र अब यसलाई सच्याएर अघि बढ्ने संकल्प लिएको दाहालले बताए। उनले पार्टीलाई फेरि आदर्श, समर्पण, वर्ग र समुदायतिर फर्काउने संकल्प लिएको जानकारी दिए।

यसका लागि पार्टीले अब सहिद, बेपत्ता, घाइते र जेलनेल भोगेका योद्धाहरुको परिवारसँग निकट सम्बन्ध स्थापित गर्ने र उनीहरुका समस्या सुन्ने अभियान चलाउने उनले बताए।

प्रकाशित: १४ असार २०८२ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App