१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भण्डारीलाई पार्टी राजनीतिमा आउन एमाले कार्यकर्ताकाे निम्ताे !

मदन भण्डारी जयन्तीको अवसरमा नेकपा एमालेका कार्यकर्ताहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा आमन्त्रण गर्दै पोष्टर सार्वजनिक गरेका छन् ।

शनिबार आयोजना हुने मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सम्बोधन कार्यक्रमलाई लक्षित गर्दै ‘मदनको विचार विद्याको नेतृत्व’, नामक पोष्टर सार्वजनिक गरेका हुन् ।

एमालेको राजनीतिमा सक्रिय हुने चर्चाकोबीच भण्डारीलाई पार्टी राजनीतिमा आमन्त्रण गरेको सङ्केत सहितको पोष्टर सार्वजनिक भएको हो ।

७४ औं मदन जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको छ । ओली शनिबारै फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गरेर स्पेन भ्रमणमा जादैछ । दिउँसो मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गरेर साँझ ६ बजे प्रधानमन्त्री स्पेन प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा पूर्व राष्ट्रपति भण्डारी सक्रिय हुन लागेको चर्चालाई सन्दर्भ बनाएर कडा भाषण गरेका अध्यक्ष तथा प्रधानमन्त्री शनिवार सम्बोधन गरेपछि ६ दिनका लागि ओली स्पेन जाने भएका हुन् । 

शनिवार नै पूर्व राष्ट्रपति भण्डारीले एमाले राजनीतिक यात्रा र मुलुकको राजनीतिक अवस्थाबारे विशेष सम्बोधन गर्ने भएकी छिन्। एमालेका पूर्व महासचिव मदन भण्डारीको ७४ औ जन्म जयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा मातृ पार्टी एमालेको राजनीति प्रवेश गर्ने र मुलुकको समसामयिक राजनीतिबारे सम्बोधन गर्ने भएकी हुन् ।

असार १४ मा नेपाल  राष्ट्रियसभामा ७४औँ मदन जयन्ती मनाउने क्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्न लागेकी भण्डारी निकट रहेका नेताहरुको दाबी छ । अहिले कार्यक्रमका प्रमुख अतिथि ओली छन् भने भण्डारीलाई विशिष्ट अतिथि बनाइएको छ। एमाले विधानबाट केही समयका लागि निलम्बन गरिएको ७० वर्षे उमेर हदको व्यवस्था कायम गराउन नेताहरूले जोडबल गरिरहेका छन् । अहिले यो व्यवस्था निलम्बनमा रहेको छ।

अध्यक्ष ओली संरक्षक रहेका कारण पनि  अहिलेसम्म फाउन्डेसनका कार्यक्रममा छुटाएका छैनन् । भण्डारीले राजनीतिमा सक्रिय हुने सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री ओली अनुपस्थित हुने चर्चा चलेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कने सम्भावना बढिरहेका चर्चा उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने हल्ला चलाइएको हो । यद्यपि प्रधानमन्त्री ओली फाउण्डेशनको संरक्षक रहेका छन् ।

मदन भण्डारी फाउण्डेशनले प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आमन्त्रण गरेको छ । प्रधानमन्त्रीज्यूको विदेश भ्रमण छ, छोटो समयका लागि कार्यक्रममा उपस्थित हुनुहुन्छ, कार्यक्रमको अन्तिम समयसम्म सहभागी हुने सम्भावना भने कम छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले भने ।

लामो समय देखि भण्डारी र ओलीबिच बढ्दै गएको दूरीका कारण पनि प्रधानमन्त्री ओली अनुपस्थित हुने चर्चा चलाइएको स्रोतको दाबी छ ।

फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले प्रधानमन्त्रीले समय दिएपछि नै कार्यक्रम तय भएको बताइन । ‘प्रधानमन्त्रीज्यूकै समय तय भएपछि मात्रै कार्यक्रम तय भएको हो, उहाँले कार्यक्रमलाई सम्बोधन गरेर स्पेन जाने बताउनु भएको छ’, भण्डारीले भनिन ।

प्रकाशित: १३ असार २०८२ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App