३२ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

थाइल्याण्डमा सक्रिय नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थाइल्याण्डमा सक्रिय स्वास्थ्य नीति निर्माता, बौद्धिक र अध्ययनरत मेडिकल विद्यार्थीसँग नेपालको स्वास्थ्य क्षेत्रमा थाइल्याण्डको अनुभवबाट गर्न सकिने सुधारबारे सुझाव लिएका छन्। 

जनसंख्या नीतिसम्बद्ध संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बैंकक पुगेका मन्त्री पौडेलले त्यहाँ सक्रिय नेपालीसँग छलफल गरेका छन्।  

नेपाली राजदूतावासको आयोजनामा बैंककमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले थाइल्याण्डको स्वास्थ्य उपचार प्रणाली, स्वास्थ्य शिक्षा र स्वास्थ्य बीमाबारे थाइल्याण्डको अनुभवबारे नेपाली समुदायसँग सुझाव लिएको उनको निजी सचिवालयले जनाएको छ। दुवै देशको परिस्थितिबारे जानकार नेपालीहरूबाट प्राप्त अनुभव आगामी दिनमा उपयोगी हुने मन्त्री पौडेलले विश्वास व्यक्त गरे।  

‘हामी अहिलेकै स्रोतमा सुधार गरेर नागरिकलाई बढी सेवा दिन प्रयासरत छौं, तपाईंहरूको अनुभव हाम्रा लागि उपयोगी हुन सक्छ,’ मन्त्री पौडेलले भने। थाइल्याण्डका लागि नेपाली राजदूत धन प्रसाद ओलीले थाइल्याण्डमा नेपालीहरू चिकित्सा उच्च शिक्षा, चिकित्सा अभ्यास, नीति निर्माण र व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै उनीहरूको अनुभव आदानप्रदानले आगामी दिनमा सम्भावना र सहकार्यको मार्ग प्रशस्त गर्ने बताए।  

अन्तरक्रियामा सहभागी स्वास्थ्य सेवा प्रदायक एप निर्माणमा संलग्न नेपालीहरूले आफ्नो सेवा स्वदेशमा विस्तार गर्न तयार रहेको बताए। साथै, सहभागी स्वास्थ्य बीमाका जानकारहरूले थाइल्याण्डको अभ्यासबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए। मन्त्री पौडेलले संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट सहभागिता जनाउनेछन्। 
 

प्रकाशित: ११ असार २०८२ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App