गुजरा नगरपालिकाका युवाहरुले विभिन्न जनसरोकारका २२ बुँदाहरु उठाउँदै आन्दोलनमा उत्रेका छन् । नगरका युवाहरुले २२ बुँदे माग नगरपालिकालाई बुझाएको तर मागहरुमाथि वेवास्ता गरेको आरोप युवाको छ । उनीहरूले २२ बुँदे सूचना सार्वजनिक गर्नुपर्ने, शिक्षा क्षेत्रमा भएको राजनीतिक नियुक्ति खारेज गर्नुपर्ने, नगर अस्पताल संचालन गर्नुपर्ने, लामखुट्टेको प्रकोप नियन्त्रण गर्नका लागि औषधि छर्नुपर्ने, डेढ वर्षमा भत्किने र झर्ने गुणस्तरहीन भौतिक संरचनाको स्वीकृति दिने इन्जिनियरमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखी युवाहरुले आन्दोलनको सुरुआत गरेका छन् ।
युवाहरुले स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनमुखी बन्नुपर्ने माग पनि अगाडि बढाउँदै आफ्ना माग सम्बोधन नभए आन्दोलनलाई थप चरणबद्ध र सशक्त बनाउने चेतावनी पनि दिएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका युवा अभियन्ता अब्दुल सलामले युवाहरुको मागप्रति नगरपालिका जिम्मेवार नभएको भन्दै आन्दोलन गर्नु बाध्यता भएको बताए । युवाहरुको समूह नगरपालिका कार्यालय पुगेर धर्ना तथा प्रदर्शन गर्दै आफ्ना मागहरुबारे छलफल गर्न नगरपालिका प्रशासनसित आग्रह गरेका थिए ।
युवाहरुको माग र आन्दोलनलाई वेवास्ता गर्दै नगरपालिका प्रशासन वार्ता र छलफलमा नआएपछि विरोधस्वरुप मंगलवार युवाहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा पनि लगाएका थिए ।
सम्बन्धित पक्ष वार्ता र छलफलमा नआएपछि प्रतीकात्मक रुपमा ताल्चा लगाइएको युवा आन्दोलनकर्मी सलामको भनाइ छ । उनी चेतावनी दिँदै भन्छन्, ‘माग सम्बोधन नभएका अझ सशक्त आन्दोलनमा उत्रन्छौँ ।’
युवाहरुको समूह आन्दोलनमा उत्रेको र कार्यालयमा ताल्चा लगाएको विषयमा गुजरा नगरपालिकाको आधिकारिक धारणा आएको छैन ।
प्रकाशित: ११ जेष्ठ २०८३ २१:१२ सोमबार





