४ श्रावण २०८३ सोमबार
image/svg+xml
अर्थ

कर बढ्ने भएपछि जग्गा कारोबारमा ऐतिहासिक रेकर्ड, एकैदिन पौने २ अर्ब राजस्व संकलन

जग्गाको कारोबारमा गत असार ३२ गते (बुधबार) अहिलेसम्मकै रेकर्ड कायम भएको छ।

गत बुधबार नेपालको इतिहासमै सबैभन्दा बढी जग्गाको कारोबार भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन विभागका प्राविधिक कर्मचारीहरूले बताएका छन्। उनीहरूका अनुसार अहिलेसम्म एकै दिन यति धेरै जग्गाको कारोबार भएको थिएन।

विभागका आइटी प्रमुख बलराम काफ्लेका अनुसार बुधबार देशभरका १ सय ३६ मालपोत कार्यालय तथा ६ वटा नगरपालिकाबाट १० हजार ९ सय ६८ वटा जग्गाको कारोबार भएको थियो। यसैगरी असार ३१ गते १० हजार १ सय २ वटा जग्गाको कारोबार भएको थियो।

जग्गाको कारोबारबाट बुधबार सबैभन्दा बढी राजस्व संकलन भएको छ। बुधबार १ अर्ब ७३ करोड ७७ लाख २५ हजार ७ सय ८८ रुपैयाँ राजस्व उठेको थियो। यसैगरी असार ३१ गते जग्गा कारोबारबाट १ अर्ब १८ करोड ९९ लाख ६५ हजार ७ सय ६४ रुपैयाँ राजस्व संकलन भएको थियो।

‘हामीसँग उपलब्ध रेकर्डअनुसार गत असार ३२ गतेको जग्गा कारोबार अहिलेसम्मकै सबैभन्दा बढी कारोबार भएको दिन हो,’ काफ्लेले भने, ‘अहिलेसम्म एकै दिन १० हजार कारोबार नाघेको रेकर्ड हामीसँग थिएन।’

सरकारले साउन १ गतेदेखि पुँजीगत लाभकरमा कर वृद्धि गरेको छ। अब साढे सात प्रतिशत र १० प्रतिशत कर कायम गरिएको छ। यसअघि पाँच प्रतिशत र साढे सात प्रतिशत कर रहेको थियो।

कर वृद्धि भएपछि जग्गा बिक्री गर्ने व्यक्ति वा संस्थाले सोहीअनुसार लाभकर तिर्नुपर्ने हुन्छ। त्यसैले नयाँ कर प्रणाली लागू हुनुअघि अघिल्लो दिन जग्गा खरिद–बिक्री कारोबार ह्वात्तै बढेको देखिएको हो।

नयाँ कर प्रणालीअनुसार पाँच वर्ष नाघेको जग्गा (अर्थात् कम्तीमा पाँच वर्षभन्दा बढी समयदेखि आफूसँग राखेको जग्गा) को लाभकर साढे सात प्रतिशत र पाँच वर्ष नपुगेको जग्गा (अर्थात् पाँच वर्ष पूरा नभएको जग्गा) को लाभकर १० प्रतिशत कायम गरिएको छ।

हाल ६ वटा नगरपालिकाबाट पनि जग्गाको कारोबार हुने व्यवस्था गरिएको छ। मेलम्ची, शिवसताक्षी, चौदण्डीगढी, भूम्लु, कन्काई र मनोहरा–कागेश्वरी नगरपालिकामा जग्गाको खरिद–बिक्री गर्दा मालपोत कार्यालय जानुपर्दैन। सम्बन्धित नगरपालिकाको कार्यालयबाटै कारोबार गर्न सकिन्छ।

प्रकाशित: ४ श्रावण २०८३ २१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App