मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।
मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।
‘मधेसका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेसकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ ।’
उनले सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवैले जिम्मेवारी पूरा भयो भन्ने बुझाइ राख्ने प्रवृत्तिका कारण विद्यालय तहमा संकट गहिरिएको उल्लेख गरे । 'एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनको गुणस्तर कमजोर भएको छ,' सिंहको भनाइ थियो ।
मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा लापरबाहीले गर्दा विद्यालय तहका बालबालिका लागूऔषधको दुर्व्यसनमा फसिरहेको चेतावनीसमेत दिए ।
उनले भने, 'विद्यालय शिक्षा सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ । लागूऔषधको दुर्व्यसन विद्यालयमै फैलिएको छ, यसलाई सामाजिक रूपमा नियन्त्रण गर्न ढिलो भइसकेको छ ।'
मुख्यमन्त्री सिंहले निजी विद्यालयमाथि पनि कटाक्ष गरे। उनका अनुसार, ‘मधेसका निजी विद्यालयहरू विद्यार्थीको क्षमता विकासमा होइन, केवल प्रमाणपत्र वितरणमा सीमित छन्।’
सिंहले सामुदायिक र निजी विद्यालय दुवैको गुणस्तरमा सुधार गर्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए ।
सभामा नगर प्रमुख प्रदीपकुमार खड्काले आर्थिक वर्ष २०८२-८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
प्रकाशित: १० असार २०८२ १८:५६ मंगलबार




