२६ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

अमरेश र कान्छाराममाथि खनिँदै महेशले भने: संसद् रोइलो गर्ने थलो होइन

नेकपा (एमाले) का नेता महेश बस्नेत सांसदद्वय अमरेश कुमार सिंह र कान्छाराम तामाङविरुद्ध खनिएका छन्।

संसद्को उनीहरूको प्रस्तुतिलाई लिएर नेता बस्नेतले टिप्पणी गरेका हुन्। 'संसद् रोइलो गर्ने थलो होइन, जनताको आवाज बोल्ने थलो हो,' उनले सुरुमा भनेका छन्।

उनी थप्छन्, 'हिजो सदनमा कान्छाराम तामाङले आफ्नो जिल्लामा बजेट पार्न नसकेको कमजोरी ढाकछोप गर्न उपप्रधानमन्त्रीहरूबारे गरिएको हावादारी र आग्रहपूर्ण टिप्पणी केवल आत्मग्लानि, कमजोरी र मन्त्री पद खुस्कँदाको आक्रोश हो।'

नेता बस्नेतले सिंहले पनि कुण्ठा पोखाएको टिप्पणी गरेका छन्। '४/५ जिल्ला बाहेक 'सबै जिल्ला विदेशीलाई लिजमा दिऊँ' भन्ने अमरेश सिंहको गैरजिम्मेवार र अराष्ट्रिय अभिव्यक्ति संसद्को मर्यादा होइन, मानसिक निराशा र कुण्ठाको उपज हो,' उनले भनेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि छाडेका छैनन्। उनले रास्वपाले केटाकेटी शैली देखाएको बताएका छन्। 'रास्वपाले आन्दोलनको नाममा देखाएको 'केटाकेटी शैली' संसद्लाई सडकको तमासा देखाउने घर बनाउने दुस्साहस हो,' उनले भनेका छन्।

यसअघि संसद्‌मा बोल्ने क्रममा सिंहको सभामुख देवराज घिमिरेसँग भनाभन भएको थियो भने तामाङले उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहका प्रति कडा टिप्पणी गरेका थिए।

रास्वपाले संसद् अवरुद्ध गर्दै आएको छ। भिजिट भिसा प्रकरणको विषयलाई लिएर उसले संसद् अवरुद्ध गर्दै आएको छ। उक्त प्रकरणमा छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन नभइन्जेलसम्म संसद् अवरुद्ध हुने रास्वपाको अडान छ।

प्रकाशित: ९ असार २०८२ १४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App