फिफा विश्वकप अन्तर्गत ह्युस्टनमा भएको राउन्ड अफ १६ मा मोरक्कोले क्यानडालाई ३–० ले हरायो। यससँगै अपराजित मोरक्कोले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।
‘डार्क हर्स’ को नाममा परिचित मोरक्कोलाई अहिले विश्वकपको बलियो उपाधि दावेदारका रूपमा हेरिन थालिएको छ।
ह्युस्टनमा भएको खेलमा मोरक्कोले गोलका लागि केवल पाँच प्रयास गरेको थियो। पहिलो हाफमा कुनैपनि टोलीले गोल गर्न सकेनन्। देस्रो हाफमा भने खेलको लय पूर्ण रूपमा मोरक्कोतर्फ मोडियो।
खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए। ओउनाहीले नै खेलको ८२औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जितमा पुर्याए।
यस जितसँगै मोरक्कोको अपराजित यात्रा ३४ खेलसम्म पुगेको छ। टोलीले सबै प्रतियोगितामा लामो समयदेखि हार बेहोरेको छैन। पछिल्लो पराजय अगस्ट २०२५ मा अफ्रिकी नेसन्स च्याम्पियनसिपमा केन्यासँग १–० ले भएको थियो।
खेलपछि प्रशिक्षक मोहम्मद ओआहबीले टोलीले कठिन परिस्थितिमा पनि आफ्नो खेल नबदलेको बताए। विश्वकपजस्तो प्रतियोगितामा दबाबका क्षण आउनु स्वाभाविक रहेको बताउँदै उनले त्यस्ता समयमा मानसिक रूपमा बलियो रहन सक्नु नै सफल टोलीको पहिचान हुने बताए।
मोरक्को योसहित लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको छ। २०२२ मा सेमिफाइनल पुगेर इतिहास बनाएको टोलीले अहिले फेरि त्यही सफलता दोहोर्याउने लक्ष्य राखेको छ।
के मोरक्को विश्वकपको दावेदार हो ?
मोरोक्कोले नकआउट चरणका कुनै पनि खेलमा हार बेहोरेका छैनन्। उनीहरूले आफ्नो पहिलो खेलमा विश्वकपका पाँच पटकको विजेता ब्राजिलसँग बराबरी खेलेका थिए। त्यसपछि स्कटल्याण्ड र हाइटीमाथिको प्रतिस्पर्धात्मक जित हासिल गरे।
राउन्ड अफ ३२ मा टोलीले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। अहिले राउन्ड अफ १६ मा क्यानडालाई पराजित गरेसँगै टोलीलाई उपाधि दावेदारको रुपमा हेरिएको छ।
यद्यपि टोलीको वास्तविक परीक्षा अब सुरु हुने विश्लेषकहरूको भनाइ छ। क्यानडाविरुद्ध सहज जित निकाले पनि पहिलो हाफको प्रदर्शनले केही कमजोरी देखाएको थियो।
यदि आगामी चरणमा फ्रान्सजस्तो बलियो टोलीसँग सामना भयो भने यस्ता गल्ती महँगो पर्न सक्ने अनुमान गरिएको छ।
तैपनि यो मोरक्कन टोलीसँग इतिहासको कुनै पनि टोली भन्दा अफ्रिकाको पहिलो विश्व च्याम्पियन बन्ने राम्रो मौका छ भन्ने कुरामा कुनै शंका छैन।
मोरक्कोको वर्तमान सफलता भने आकस्मिक होइन। पछिल्ला डेढ दशकमा फुटबल पूर्वाधार, प्रशिक्षण प्रणाली र युवा विकासमा गरिएको दीर्घकालीन लगानीको प्रतिफल अहिले मैदानमा देखिएको छ।
राजा मोहम्मद छैठौंको समर्थनमा स्थापना गरिएको आधुनिक फुटबल एकेडेमी र प्रशिक्षण केन्द्रले राष्ट्रिय टोलीलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
१९८६ देखि १९९८ सम्म चार विश्वकपमध्ये तीनमा पुगेपछि मोरक्कोले २० वर्षसम्म छनोट नभई बितायो।
त्यसैको परिणामस्वरूप स्पेनलगायत विदेशमा हुर्किएका प्रतिभावान खेलाडीहरू पनि राष्ट्रिय टोलीमा आबद्ध भएका छन्। अच्राफ हाकिमी र ब्राहिम डियाजजस्ता खेलाडीले मोरक्कोलाई विश्व फुटबलमा थप प्रतिस्पर्धी बनाएका छन्।
कतार विश्वकपमा मोरक्कोको यात्रा धेरैका लागि सपना थियो। तर २०२६ मा भने अवस्था फरक छ। अहिले उसलाई विश्वकप जित्न सक्ने वास्तविक दावेदारका रूपमा हेरिरहेको छ।
प्रकाशित: २१ असार २०८३ १३:५८ आइतबार





