१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

विद्यार्थीलाई नेमकिपा अध्यक्ष बिचुक्छेंको आग्रहः तत्कालको फाइदाभन्दा माथि उठेर काम गर्नुहोस्

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले राष्ट्रको हितलाई केन्द्रमा राखेर अघि बढ्न विद्यार्थीलाई आग्रह गरेका छन् । भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले विद्याथीहरुसँंग उक्त आग्रह गरेका हुन् । नयाँ पुस्ताप्रति विश्वास व्यक्त गर्दै उनले अघिल्लो पुस्ताले गर्न नसकेका धेरै महत्वपूर्ण कामहरू अब नयाँ पुस्ताले पूरा गर्ने अपेक्षा उनले गरे ।

समाजमा जात, भाषा, धर्म वा अन्य कुनै आधारमा विभेद नगरी योग्यतालाई नै प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए । उनले व्यक्तिको पहिचान जन्म वा जातले होइन, उसको योग्यता, क्षमता, इमान्दारिता र कर्मले निर्धारण गर्ने बताउँदै विद्यार्थीहरू जहाँसुकै पुगे पनि आफ्नो ज्ञान, सीप र योग्यताका आधारमा सफल बन्नुपर्ने धारणा राखे । जात, भाषा र धर्मका नाममा हुने विभेदले विश्वका शक्तिशाली राष्ट्रहरू समेत समस्यामा परेको उल्लेख गर्दै उनले समावेशी, समानतामूलक र मानवतामा आधारित समाज निर्माणमा नयाँ पुस्ताको महत्वपूर्ण भूमिका रहने बताए ।

बिजुक्छेले व्यक्तिगत स्वार्थ र तत्कालको फाइदाभन्दा माथि उठेर सबैलाई समान सम्मान गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।

फरक प्रसंगमा उनले भक्तपुरलाई शिक्षा र ज्ञानको केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा ख्वप कलेज तथा ख्वप शैक्षिक संस्थाहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै भविष्यमा भक्तपुरलाई विश्वविद्यालयको सहरका रूपमा विकास गर्ने लक्ष्य प्राप्तिमा विद्यार्थीहरूको सक्रिय सहभागिता आवश्यक रहने धारणा व्यक्त गरे । कार्यक्रममा यस वर्षको कक्षा १२ मा स्कुलबाट नेपाल टप हुन सफल विद्यार्थी अतुल अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित: १९ असार २०८३ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App