राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्मा जारी राखेको अवरोधको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।
प्रमुख सचेतकहरूसँगको सभामुख घिमिरेको छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र उपसभामुख इन्दिरा रानासमेत सहभागी छन्।
यस्तै नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन्।
सभामुख घिमिरेले संसद्मा जारी अवरोध खुलाउने विषयमा गृहमन्त्री रमेश लेखक, सत्तापक्षका मुख्य सचेतक बर्तौला र रास्वपा प्रमुख सचेतक परियारसँग अलग-अलग पनि छलफल गरिसकेका छन्।
यसैबीच विभिन्न दलका सांसदहरूले सदनमा रास्वपा सांसदहरू निलो स्कार्फमा संसद् प्रवेश गरेकाबारे सभामुख घिमिरेको ध्यानाकर्षण गराएका छन् । उनीहरूले संसद्मा क्रमशः अमर्यादित गतिविधि भएको भन्दै नियन्त्रणका लागि आग्रह गरेका छन्।
सभामुख घिमिरेले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै संसदीय मर्यादाभित्र बस्नु स्वयम् सांसद र राजनीतिक दलहरूको कर्तव्य रहेको बताउँदै आफू स्वनियमनको पक्षमा रहेको बताएका छन्।
प्रकाशित: ३ असार २०८२ १५:१९ मंगलबार





