२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

बजेट कार्यान्वयन हुन्छ: मन्त्री राना

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयन हुने दाबी गरेका छन् ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री रानाले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयन हुने दाबी गरेका हुन् ।

प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा  आशंका भइरहेका वेला मन्त्री रानाले  बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले नीतिगत र प्रक्रियागत व्यवस्था मिलाएका कारण आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुने बताए । मन्त्री रानाले भने‘कागजपत्र मिलाउने लगायतका प्रक्रियागत कामहरू तीन चार महिनामै पुरा गरेर खरिद प्रक्रियामा अगाडि बढाउने तयारी गरिएकाले बजेट कार्यान्वयन हुन्छ’ मन्त्री रानाले भने । उनले  विगतका वर्षहरूमा खरिद प्रक्रिया सुरू गर्न नै फागुन सम्म लाग्ने गरेकाले बजेट कार्यान्वयनमा समस्या देखिए पनि आगामी आर्थिक वर्ष देखि मंसिर–पुस सम्ममा प्रक्रियागत काम सम्पन्न गरी योजना कार्यान्वयनमा लैजाने प्रदेश सरकारको तयारी रहेको उनले जानकारी दिए ।

कोशी प्रदेश सरकारले ल्याएको बजेटले आर्थिक आधारको सबलीकरणद्वारा प्रदेशको समग्र विकास गर्ने उद्देश्य लिएको मन्त्री रानाले बताए । उनले कोशी प्रदेशबाट ठूला उद्योगहरू विस्थापित हुँदै गएका कारण ठूला उद्योग र उत्पादनमूलक उद्योगहरूको स्थापनाका लागि बजेटले जोड दिएको जानकारी गराए ।

मन्त्री रानाले रोजगारी सृजना, स्वरोजगार र उद्यमशीलताको विकासका लागि बजेटमा विशेष व्यवस्था गरिएको बताए । कोशी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । 

प्रकाशित: २ असार २०८२ १५:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App