१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

संसद् खुल्दा कांग्रेस दबाबमुक्त, रास्वपामाथि बर्बर खनिँदै

‘काण्डै–काण्डले गन्हाएका व्यक्तिको नेतृत्वमा बस्ने, हामीसँग नैतिकताको कुरा गर्ने?’

भिजिट भिसा प्रकरणमा लामो समय अवरुद्ध प्रतिनिधिसभा बैठक सुरु भएसँगै नेपाली कांग्रेस दबाबमुक्त देखिएको छ। गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले लगातार संसद् अवरोध गर्दा कांग्रेस दबाबमा थियो। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गर्दै संसद्को गतिरोध अन्त्य गर्न राजी भएपछि शुक्रवारबाट संसद् चल्न थालेसँगै कांग्रेसको दबाब ‘रिलिज’ भएको छ। माओवादी केन्द्रले गरेको सहमतिमा नेकपा एकीकृत समाजवादी, आम जनता पार्टी लगायतका विपक्षी घटकले पनि सहमति जनाएका छन्। सोही कारण आइतबारबाट सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल पनि सुरु भएको छ। 

संसद् बैठक सुचारु भए पनि विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले भने गृहमन्त्रीको राजीनामा माग्दै संसद्मा विरोध जारी राखेका छन्। यो मामिलामा राप्रपाभन्दा रास्वपा अझ विघ्न चर्को सुनिएको छ। रास्वपाले संसद्मा नाराबाजीसहित ‘वेल’मै पसेर विरोध गरिरहेको छ। तर, सभामुख देवराज घिमिरेले ‘पेलेरै’ बैठक चलाउन थालेका छन्। 

दबाब घट्दा रास्वपा विरुद्ध निसाना

गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध पार्दा नेपाली कांग्रेस निकै रक्षात्मक अवस्थामा पुगेको थियो। पार्टीभित्रै डा. शेखर कोइरालालगायतका नेताहरू नै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने भन्दै दबाब दिन थालेका थिए। त्यसले स्वयं गृहमन्त्री लेखक र सभापति शेरबहादुर देउवामाथि दबाब चुलिँदै गएको थियो। 

पार्टी नेताहरूको बैठकमा स्वयं गृहमन्त्री लेखकले आफू राजीनामा दिन तयार रहेको सन्देश पनि दिइसकेका थिए। तर सभापति देउवाले उनलाई रोकेर राखेका थिए। यद्यपि संसद् बैठक नचल्दा देउवा र कांग्रेसमाथि पनि दबाब भने कायम थियो। 

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलहरू ‘ब्याक’ भएर संसद् चलेसँगै कांग्रेसमाथि रहेको त्यो दबाब ‘रिलिज’ भएको देखिएको छ। 

दबाबमुक्त भएको कांग्रेस अहिले रास्वपा माथि खनिन थालेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई जोडेर सबैभन्दा आक्रामक रूपमा घेराबन्दी गर्ने काम रास्वपाबाटै भइरहेको कांग्रेसले बुझेको छ। रास्वपाकै कारण माओवादी केन्द्र समेत सहमतिमा आउन ढिलाइ भएको थियो। जुन कुरा कांग्रेसलाई भलिभाँती थाहा छ। 

अहिले माओवादी केन्द्र सहमतिमा आउने र रास्वपा विरोधमै उत्रँदा निसाना साँध्न कांग्रेसलाई पनि सहज भएको छ। जसका दृश्य संसदमै देखिन थालेका छन्। 

शुक्रवार संसद् सुचारु भएसँगै गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो जवाफ रेकर्ड गराएका थिए। गृहमन्त्री लेखकले सम्बोधन गरिरहँदा रास्वपाका सांसदहरू वेलमा नाराबाजी गरिरहेका थिए। 

रास्वपा सांसदको हल्लाखल्लाका बिचमा सम्बोधन गर्नुपर्दा गृहमन्त्री लेखकलाई आफ्नो स्वाभावविपरीत चर्को बोल्नुपरेको थियो। चर्को स्वरसँगै उनले रास्वपालाई तमाम चेतावनी नै चेतावनी दिन भ्याए। जसमा रास्वपाको नाम नलिएर आफू विरुद्ध ‘पार्टी कार्यालयमा किर्ते र फर्जी पीडित खडा गरेर उजुरी हाल्ने’ काम भइरहेको भन्दै त्यो काम ‘दण्डनीय हुने’सम्म भन्न भ्याएका थिए। त्यसबारे प्रहरी एवं मातहतका निकायले अनुसन्धान गरिरहेको समेत गृहमन्त्री लेखकले भनेका थिए। 

रास्वपा माथि उल्टै ‘नैतिक प्रश्न’

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि रास्वपाले उही अडान दोहोर्‍यायो। सुरुमा आफ्नो स्थानबाट उठेर विरोध जनाएको रास्वपाले बैठक अघि बढेपछि वेलमै प्रवेश गर्‍यो। 

यस्तोमा बैठकको सुरुमै कांग्रेस सांसदहरूले रास्वपा माथि आक्रामक अभिव्यक्ति दिए। शून्य समयमा समय मागेका कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नैतिकताका आधारमा गृहमन्त्री लेखकको राजीनामा माग्ने नैतिक धरातल रास्वपासँग नरहेको भन्न भ्याए। 

‘रास्वपाले नैतिकता आधारमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद्मा होहल्ला र अवरोध गर्दै आएको छ,’ संसद्मा घिमिरेले भने, ‘एउटा कर्मचारीमाथि अख्तियारले छानबिन थालेको भन्ने आधारमा नैतिकताका आधारमा राजीनामा माग्ने साथीहरूले पाँच पाँच वटा अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण एवं सङ्गठित अपराध मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई  आफ्नो पार्टी सभापतिको पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो ?’ 

घिमिरेले अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापति पदमा लामिछाने नै रहेको विषय पनि कोट्याए। ‘जो जेलमा हुनुहुन्छ, पाँच पाँच वटा मुद्दा उहाँमाथि छ। र, उहाँ नै अहिले पनि निर्वाचन आयोगको अभिलेखमा सभापतिको पदमा हुनुहुन्छ । त्यो पार्टीले अहिले नैतिकताको पाठ कसैलाई सिकाउन मिल्छ कि मिल्दैन ? मेरो यो प्रश्न छ,’ उनले भने। अरूसँग नैतिकता खोज्नेहरूले आफैभित्रबाट सबैभन्दा पहिला नैतिकता प्रदर्शन गर्न उनले आग्रह गरे।

कांग्रेस सांसद नागिना यादव र प्रमुख सचेतक श्यामकुमार घिमिरे

‘त्यति मात्र होइन, रास्वपाको संसदीय दलको नेता परिवर्तन भएको खबर अहिलेसम्म बाहिरिएको छैन। र, संसद्को सचिवालयमा अहिले पनि रास्वपाको संसदीय दलको नेता रवि लामिछाने नै हुनुहुन्छ,’ प्रमुख सचेतक घिमिरेले भने, ‘जो संसद् सदस्यबाट पनि निलम्बित भइसक्नुभएको छ, त्यही व्यक्ति अहिले पनि आफ्नो संसदीय दलको नेता राखेर बस्ने पार्टीले अरूलाई नैतिकताको पाठ सिकाउन कति मिल्ने?’ 

शून्य समयमै कांग्रेस सांसद नागिना यादव झन् बर्बर आक्रामक सुनिइन्। उनले रास्वपा सभापति लामिछानेमाथि पाँच पाँच जिल्लामा सहकारी ठगी मुद्दा विचाराधीन रहेको, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसमेत लागेको र उच्च अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई सर्वोच्चले सदर गरेको पनि स्मरण गराइन। 

‘उहाँको पार्टीको सभापति रवि लामिछाने विभिन्न काण्डमा, आज यो सहकारी मात्र होइन नागरिकता र पासपोर्ट काण्डमा, जबकि यो काण्डमा उहाँको पद नै  एकचोटी  गएको थियो,’ सांसद यादवले भनिन्, ‘तर उहाँको पार्टीका माननीय ज्युहरूले अरूलाई नैतिकताको पाठ बढाउनुहुन्छ। आफ्नो सभापति कस्तो हो? आफूले कस्तो स्कुलिङ गर्दै आउँदै छु? भन्ने कुरा थाहा छैन।’ 

उनले रास्वपा सांसदलाई एक पटक आफूलाई नियालेर हेर्न पनि आग्रह गरिन्। उनले भनिन्, ‘आजसम्म पनि न उहाँले संसदीय दलबाट राजीनामा दिनुभएको छ, न पार्टीको सभापतिबाट राजीनामा दिनुभएको छ।’ 

काण्डैकाण्डले भरिएका व्यक्तिले नैतिकता पाठ सुनाउन नसुहाउने पनि सांसद यादवले बताइन्। ‘काण्डै काण्डले भरिएका यस्ता गन्हाउने व्यक्तिको नेतृत्वमा बस्ने यी सांसदले नैतिकताको पाठ कसलाई पढाउने खोजेको ?,’ सांसद यादवले भनिन,‘आफू गन्हाउने, अरूको बास्ना पनि सुँघ्न नसक्ने?’ 

प्रकाशित: १ असार २०८२ १६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App