नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भित्र आन्तरिक विवाद चुलिएको छ। माउ पार्टीले निर्देशन दिएको तीनमहिने ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी)’ अभियानलाई संगठनका बहुमत प्रदेश अध्यक्षहरूले पूर्ण रूपमा बहिष्कार गर्ने घोषणा गरेका छन्।
पार्टी नेतृत्वले मुख्य सरोकारवाला विद्यार्थी संगठनसँग कुनै छलफल नगरी एकलौटी रूपमा अभियान ल्याएको भन्दै ६ वटा प्रदेश कमिटीका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गरी उक्त कार्यक्रम बहिष्कार गरेको जनाएका हुन्।
विज्ञप्तिमा बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर थापा, कोशी प्रदेश अध्यक्ष चन्द्र माङमुङ, लुम्बिनी प्रदेश अध्यक्ष पुष्कर शाह, कर्णाली प्रदेश अध्यक्ष मनपिङ शाही र गण्डकी प्रदेश अध्यक्ष त्रिदीप गुरुङले हस्ताक्षर गरेका छन्।
पार्टी केन्द्रले जेठ २५ देखि भदौ २५ गतेसम्म सञ्चालन गर्न निर्देशन दिएको अभियानमा आफूहरू सहभागी नहुने उनीहरूको अडान छ।
अखिल (क्रान्तिकारी) बागमती प्रदेशका अध्यक्ष अर्जुन पौडेलले संगठनलाई बाइपास गरी पार्टीले अभियान सुरु गरेकाले आफूहरू मान्न तयार नभएको बताए। ‘अभियानको उद्देश्य विद्यालय र कलेजहरूमा संगठन विस्तार, नयाँ सदस्यता वितरण र नवीकरण गर्नु हो। तर, विद्यार्थीका लागि ल्याइएको कार्यक्रमबारे हामीसँग कुनै छलफल नै गरिएन,’ पौडेलले नागरिक न्युजसँग भने, ‘पार्टीले गरेको कार्यविभाजनमा पनि हाम्रो गम्भीर आपत्ति छ।’
असन्तुष्ट पक्षले तत्काल संगठनको विधान संशोधन गर्नसमेत माग गरेको छ। उनीहरूले प्रदेश अध्यक्षलाई केन्द्रीय उपाध्यक्षसरह, प्रदेश उपाध्यक्ष र प्रमुख सचिवलाई उपमहासचिवसरह तथा अन्य पदाधिकारीलाई सचिवसरहको हैसियत दिने गरी विधान सच्याउन माग गरेका छन्।
अध्यक्ष पौडेलले मागहरू तत्काल सम्बोधन नभए प्रदेश अध्यक्षहरूले संगठनका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने चेतावनी दिए। ‘हामी पदाधिकारी बैठक, सपथ ग्रहण, स्ववियु कार्यशाला र गोष्ठीलगायत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौं,’ उनले भने।

प्रकाशित: २६ जेष्ठ २०८२ १५:५३ सोमबार





