भक्तपुरको जगाती क्षेत्र हुँदै गुड्ने सवारीसाधन र वरपर फैलँदै गएका आधुनिक घरहरूबीच आज पनि एउटा पुरानो औद्योगिक संरचना मौन बसेर उभिएको छ । समयको धुलोले ढाकिएका भवन, भत्किँदै गएका चिम्नी र सुनसान परिसरले यहाँ कुनै समय आधुनिक प्रविधिबाट इँटा उत्पादन हुने उद्योग सञ्चालनमा थियो भन्ने कुरा इतिहास वन्दै गएको छ । यही जगातीस्थित चाइनिज इँटा कारखानाको इतिहासलाई झल्काउन भक्तपुरेले काम गरेका छन् ।
वि.सं. २०३० को दशकतिर चीन सरकारको सहयोगमा भक्तपुरको जगातीको ठूलो क्षेत्रफलमा मेशिनबाट इँटा उत्पादन उद्योग खुलेको थियो, हफम्यान प्रविधि । तर सरकारको अर्कमन्यताका कारण यो उद्योग बन्द भएको पनि वर्षौ बितिसकेको छ । निजी क्षेत्रलाई लिजमा सञ्चालन गर्न दिएर अहिले त्यो पनि बन्द भइसकेको छ । त्यसकारण यो इतिहास बन्ने क्रममा पुगेको हो ।
यही इतिहासलाई इतिहासमै सीमित नराख्न युवा व्यवसायी इन्जिनियर कृष्णभक्त दुवालले यही प्रविधिबाट इँटा उत्पादन गर्ने प्रविधि कास्कीको पोखरामा स्थापना गरी सञ्चालनमा ल्याएका छन् । ३० को दशकमा बनेको इँटा उत्पादनको नयाँ प्रविधि हफम्यान इतिहास नबनोस् भनेर हामीले पोखरामा यस्तै प्रकारले इँटा उत्पादन गर्ने कारखाना खोलेर इँटा उत्पादन थालिसकेका छौं, भक्तपुरकै व्यवसाय इन्जिनियर दुवालले भने, अब हाफम्यान प्रविधिबाट कसरी इँटा उत्पादन हुन्छ भनेर हेर्न कोही चाहन्छ भने पोखरामा हाम्रो उद्योग हेर्न आउँदा हुन्छ ।
हफम्यान प्रविधिबाट इँटा उत्पादन गर्दा इँटा उत्पादनदेखि पोल्नेलगायतका सम्पूर्ण काम मेशिनबाटै हुन्छ । यहाँ सामान्य इँटाभटामा जस्तो इँटा पार्ने न खल (ठाउँ चाहिन्छ) न त मानिस नै । सबै मेशिनले नै गर्छ । यसबाट तुलनात्मक रुपमा गुणस्तरीय इँटा उत्पादन हुन्छ । यसरी गुणस्तरीय इँटा चाहनेहरुले यो हफम्यान प्रविधिबाट बनेको इँटा प्रयोग गर्न सकिने र भारतलगायतबाट इँटा नेपाल आयात गर्नुपर्ने अवस्था नआउने व्यवसायी दुवाल बताउँछन् ।
त्यस समयमा यो कारखाना औद्योगिक सीप सिक्ने एउटा केन्द्रजस्तै बनेको थियो । यहाँ काम गरेका धेरै कामदारहरूले पछि निजी इँटाभट्टा तथा निर्माण क्षेत्रमा आफ्नो सीप प्रयोग गरे, जगाती निवासी एकजना वृद्ध भन्छन् । तर पछि यस्तो इतिहास बोकेको इँटा उद्योगमा समयसँगै समस्या थपिँदै गए । इन्धन आपूर्ति अभाव, व्यवस्थापन कमजोरी, प्रविधि समयअनुकूल अद्यावधिक नहुनु र निजी क्षेत्रका परम्परागत इँटाभट्टासँगको तीव्र प्रतिस्पर्धाले कारखानालाई कमजोर बनायो । अन्ततः पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि उत्पादन बन्द भयो ।
चीन सरकारले बनाइदिएको कारखाना नेपालमा आधुनिक औद्योगिक प्रविधि भित्याउने प्रारम्भिक परियोजनामध्ये एक मानिन्छ । तर सरकारको अर्कमन्यता कारण त्यो वन्द भएको पनि दसक वित्यो । पछिल्लो पटकको ओली सरकारले उद्योग मन्त्रालयको नाममा रहेको जगातीको यो जग्गामा खेलकुद रंगशाला बनाउने योजना बनाएको थियो । तर अहिले त्यो योजना पनि अलपत्र छ । यो जग्गामा अहिले सूर्यविनायक नगरपालिकाको सूर्यविनायक अस्पताल छ भने बाँकी भाग पुराना कारखानाका भबनहरु भूत वंगलाजस्तै धुलो मैलोले भरिएर थिंग उभिएका छन् ।
मेसिनबाट बनेका इँटा
परम्परागत रूपमा हातले ढालेर घाममा सुकाइने इँटाभट्टाको अभ्यासभन्दा फरक, चाइनिज इँटा कारखानामा चीनबाट ल्याइएका मेसिनरी प्रयोग गरिन्थे । माटो प्रशोधनदेखि इँटा ढाल्ने, सुकाउने र उच्च तापक्रममा पकाउनेसम्मका सबै प्रक्रिया व्यवस्थित ढंगले सञ्चालन हुन्थे । यसले उत्पादन क्षमतामा वृद्धि मात्र गरेन, इँटाको मजबुती र एकरूपता पनि सुनिश्चित गर्यो ।
संरक्षणको पर्खाइमा इतिहास
आज चाइनिज इँटा कारखानाका संरचनाहरू जीर्ण अवस्थामा छन् । कतिपय भवन भत्किने अवस्थामा पुगेका छन् भने चिम्नी र मेसिनरीका अवशेषले मात्रै यसको विगतको कथा सुनाइरहेका छन् । स्थानीय बासिन्दा र इतिहासप्रेमीहरू यो स्थानलाई औद्योगिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँछन् । उनीहरूका अनुसार उचित संरक्षण र व्यवस्थापन भएमा यो स्थललाई औद्योगिक संग्रहालय, शैक्षिक अध्ययन केन्द्र वा पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना पनि रहेको छ ।
मौन साक्षी
जगातीस्थित चाइनिज इँटा कारखाना आज उत्पादन नगरे पनि यसले नेपालमा आधुनिक उद्योग स्थापनाको एउटा महत्वपूर्ण अध्याय बोकेको छ । इँटाभित्र कैद भएको यो इतिहास संरक्षणको पर्खाइमा छ, भोलिका पुस्तालाई औद्योगिक यात्राको कथा सुनाउन ।
प्रकाशित: १० पुस २०८२ १९:३३ बिहीबार





