नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन अखिल (क्रान्तिकारी) ले 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' तीन महिने अभियान सुरु गरेको छ।
तीन महिनासम्म चल्ने अभियान आइतबार (हिजो) देखि सुरु भएको हो। सङ्गठनका महासचिव रोशन थापामगरका अनुसार यो भदौको २५ गतेसम्म चल्नेछ।
अभियानका क्रममा क्रान्तिकारीले शिक्षा, स्वास्थ्य, रोजगार र खाद्य सम्प्रभुतालगायत मौलिक हकहरूको कार्यान्वयनका लागि निरन्तर आन्दोलन कार्यक्रम गर्ने, विद्यालयमा बढ्दै गइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न सङ्घर्षको कार्यक्रम सञ्चालन गर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा केन्द्रित शैक्षिक आन्दोलनका कार्यक्रमहरू बनाउने, प्रत्येक समितिले आफ्नो सापेक्षतामा शहीद र बेपत्ता योद्धाहरूको नाममा विविध रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेलगायतका कार्यक्रमहरू सञ्चालन हुने महासचिव थापामगरले बताए।
अभियानका लक्ष्यहरूमा एक इकाइ, एक प्रशिक्षण, एक सङ्गठन, एक सङ्घर्षलगायत छन्। यस्तै पाँच लाख सदस्यता पुर्याउने पनि क्रान्तिकारीको लक्ष्य छ।
क्रान्तिकारीले अभियानका लागि कमान्डरसमेत तोकेको छ। त्यसअनुसार कोशी प्रदेशमा अभिमन्यु यादव, मधेसमा ममता अधिकारी, बागमती मदन ढकाल, गण्डकीमा कृष्णबहादुर सुनार तोकिएका छन्।
यस्तै लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य र सुदूरपश्चिममा उमेश कँडेल कमान्डर तोकिएका छन्। यस्तै उपत्यका विशेष प्रदेशमा देउमा जैसी र विश्वविद्यालय प्रदेशको जिम्मेवारी सन्दीप पुनलाई दिइएको छ।
मातृपार्टी माओवादी केन्द्रले पनि भर्खरै 'जनतासँग माओवादी' अभियान सम्पन्न गरेको छ। यसकै सापेक्षतामा क्रान्तिकारीले पनि 'विद्यार्थीसँग अखिल क्रान्तिकारी' अभियान सञ्चालन गरेको हो।
प्रकाशित: २६ जेष्ठ २०८२ १५:१६ सोमबार





