२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

सदन खुलाउन कांग्रेसको मध्यमार्गी प्रस्ताव, साझा धारणा बनाउन प्रतिपक्षी दलहरु छलफलमा

भिजिट भिसा प्रकरणमा लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरु नेपाली कांग्रेसले अघि सारेको मध्यमार्गी प्रस्तावमाथि छलफलमा जुटेका छन् ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत जेठ १३ गतेदेखि सदन चल्न दिएका छैनन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट ल्याउन दिए पनि सोपछिको कामकारबाही भने अघि बढ्न सकेको छैन । प्रतिपक्षी दलको अवरोधले सदनमा बजेटमाथिको छलफल नै प्रभावित हुँदै आएको छ ।

कांग्रेसले आइतबार साँझ प्रतिपक्षी दलसामु अघि सारेको प्रस्तावमा भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने, छानबिनपछि भिजिट भिसा सम्बन्धमा अध्यागमनमा देखिएका समस्याहरूको समाधान गर्न र सुधार गर्न आवश्यक कामबारे सुझाव दिन समिति बनाउने उल्लेख छ । 

कांग्रेसको उक्त प्रस्तावमा नेकपा ९एकीकृत समाजवादी० र राप्रपा पनि सकारात्मक रहेको बुझिएको छ । यद्यपि रास्वपा भने गृहमन्त्रीको राजीनामा र संसदीय छानबिनको पक्षमा अडिग रहेको नेताहरुको भनाइ छ ।

कांग्रेस नेताहरुले उक्त प्रस्तावमा प्रतिपक्षी दलहरु सकारात्मक रहेको दाबी गर्दै सदनको अवरोध आजैदेखि हट्ने विश्वास व्यक्त गरे । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रकाशित: २६ जेष्ठ २०८२ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App