गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था र वितृष्णा फैलाउने समाचारप्रति सञ्चारजगत सचेत हुनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना र प्रदेश सरकारको सहयोगमा आजदेखि पोखरामा सुरु भएको मल्टिमिडिया तालिमको उद्घाटन गर्दै उनले नेता र दलका गल्तीका कारण व्यवस्थाप्रति निराशा र वितृष्णा फैलने गरी प्रचार गर्न नहुने बताए।
मुख्यमन्त्री पाण्डेले भने, ‘सरकारबाट पनि गल्ती हुन सक्छ र त्यसका लागि दण्ड दिने व्यवस्था संविधानमा छ, जनताले दण्ड दिन सक्छन्। गल्ती र कमजोरीलाई आत्मसात् नगरे जनताले निर्वाचनमा दण्ड दिन सक्छन्, तर जनसङ्घर्षबाट फालिएको राजतन्त्र स्थापना गर्ने प्रयत्न भयो भने त्यो अवस्था रहँदैन।’
उनले निरङ्कुशताको पहिलो शिकार पत्रकारिता हुने गरेको भन्दै जनताको मुख थुन्नुअघि पत्रकारिताको मुख बन्द गरिने इतिहास स्मरण गरे। ‘आफूलाई विसं २०५९ तिर लैजानुहोस् र विगतको अनुभव गर्नुहोस्। पहिलो शिकार पत्रकारिता हुँदै आएको छ,’ मुख्यमन्त्री पाण्डेले भने।
उनले सरकारले प्रेस स्वतन्त्रताको सम्मान गर्ने र आवश्यक नियमन गर्ने बताए। उनले पत्रकारिता जगतले सकारात्मक सोच र आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए। लोकतन्त्र स्थापनामा सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रेस रजिस्ट्रार कार्यालयमार्फत मिडियाका लागि नवीनतम कार्यक्रम सञ्चालन गरिने बताए।
पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष रमेश पौडेलले प्रविधिको विकाससँगै सञ्चारकर्मीलाई दक्ष र सीपयुक्त बनाउन तालिम आयोजना गरिएको बताए। सोमबारसम्म सञ्चालन हुने तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका ४० जना पत्रकार सहभागी छन्, प्रदेश समितिका महासचिव जमुना शर्माले जानकारी दिए। रासस
प्रकाशित: २५ जेष्ठ २०८२ २०:५४ आइतबार





