कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको अनुदानका लागि बजेट अपुग भएको बताएका छन्।
राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज आयोजना गरेको रासायनिक मलको सहज व्यवस्थापन विषयको बैठकका क्रममा मन्त्री अधिकारीले बजेट नपुगेकै कारण मलको समस्या समाधान हुन नसकेको बताए। अनुदान बजेट अनुसारको मल भने समयमै ल्याएर डिपोसम्म पु¥याउने काम मन्त्रालयले गरिरहेको उनको भनाइ थियो ।
“यसअघि मन्त्रालयले सार्वजनिक गरेको पाँच वर्षे कृषि अनुदानमा रु पाँच खर्ब एक अर्ब बजेटमध्ये रासायनिक मलको अनुदानमा रु ८७ अर्ब खर्च भएको रहेछ, त्यसपछिको अनुदान पनि कुनकुन विषयमा कसकसले कतिकति लगे तथ्याङ्क सङ्कलनको काम भइरहेको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र यसअन्तर्गत वितरण भएको अनुदानको विवरण सार्वजनिक हुन्छ,” मन्त्री अधिकारीले भने।
परियोजनाले पैसा नभई उपकरण खरिद गरेर अनुदान दिने गरेको मन्त्री अधिकारीले बैठकमा जानकारी गराए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा दुई वर्षदेखि कार्यकारी निर्देशक पद रिक्त रहेकामा हालै नियुक्त गरी पठाएको उनले बताए। विषादी नियन्त्रणका लागि मन्त्रालयले सरोकार भएका निकायसँग छलफल गरी अघि बढेको उनले बैठकमा जानकारी गराए।
समितिका सभापति कमला पन्तले रासायनिक मलका बारेमा बेला बेलामा गुनासो आउने गरेकाले मन्त्रीसहित मन्त्रालयका अधिकारी बोलाएर छलफल गरिएको जानकारी गराए। प्रदेश र स्थानीय सरकारलाई पनि रासायनिक मलसँग सम्बन्धित विषयमा समस्या नआउने गरी काम गर्न निर्देशन दिएको उनले बताए।
प्रकाशित: २५ जेष्ठ २०८२ १८:१२ आइतबार





