१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

जनताले नयाँ अनुहार होइन, भिजन र अनुभवी नेतृत्व खोजेका हुन्: पृथ्वीसुब्बा

नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले जनताले राजनीतिमा नयाँ अनुहार नभई परिष्कृत भिजन र स्पष्ट नीति खोजिरहेको बताएका छन्।

मंगलबार प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ दलहरूप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘नयाँ भनेको के हो ? अनुहारमा नयाँ कि विचारमा ? नीतिमा कि कार्यक्रममा ?’

उनले जनताले नयाँ अनुहार नभई सच्चिएका, सुध्रिएका र परिष्कृत भिजनसहितका अनुभवी पार्टी र नेता खोजेको दाबी गरे।

‘पुराना राजनीतिक दलहरूको औचित्य सकियो भन्ने हल्ला चलेको छ, तर त्यो सत्य होइन,’ गुरुङले भने, ‘जनताले पुराना दलहरूका सानातिना कमी-कमजोरी सुधार्दै आजका चुनौती सामना गर्न सक्ने परिपक्व र अनुभवी नेतृत्व खोजेका हुन्।’

नयाँ भनिएका शक्तिहरूसँग देश बनाउने कुनै एजेन्डा, विचार र कार्यक्रम नरहेको आरोप समेत उनले लगाए।

रास्वपा, नेपाली कांग्रेस र अन्य नयाँ शक्तिहरूप्रति टिप्पणी गर्दै उनले भने, ‘नयाँ अनुहार देखाएर मात्र हुँदैन, नयाँ भिजन खोइ ? अनुभवहीन व्यक्तिको हातमा मुलुकको शासन व्यवस्था पुग्यो भने मुलुकमा अस्थिरता, अराजकता र अस्तव्यस्तता सुरु हुन्छ।’

मुलुकको संविधान, राजनीतिक व्यवस्था र स्वाधीनतामाथि चौतर्फी आक्रमण भइरहेको अवस्थामा देशलाई जोगाउन एमालेजस्तो अनुभवी र भिजनरी पार्टीको आवश्यकता रहेको उनको भनाइ थियो।

उनले एमालेसँग देश चलाउने अनुभव, परिपक्वता, ठोस नीति र अठोट रहेको जिकिर गरे।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले बाहेक अन्य शक्तिसँग स्पष्ट खाका नरहेको भन्दै उनले निर्वाचनमा देशभक्त नेपालीहरूको साथ एमालेलाई रहने विश्वास व्यक्त गरे।

प्रकाशित: २० माघ २०८२ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App