१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

शान्तिका लागि मतदान गर्न प्रधानमन्त्रीको आग्रह, भनिन्- देशलाई जिताऊँ

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा शान्तिका लागि मतदान गर्न आम मतदातासँग आग्रह गरेकी छन्।

नवलपुरको हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहलाई सम्बोधन तथा स्थानीयसँगको अन्तर्क्रियाका क्रममा उनले यस्तो आग्रह गरेकी हुन्।

समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी प्रधानमन्त्री कार्कीले यो निर्वाचन नियमित नभई विशेष प्रकृतिको भएको सुनाइन्। स्थानीय समुदाय, शिक्षक तथा अभिभावकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले व्यक्तिको हारजितभन्दा माथि उठेर देशलाई जिताउनुपर्ने बेला आएको उल्लेख गरिन्।

‘यो चुनाव नियमित चुनाव होइन, यो विशेष चुनाव हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तपाईंहरू शान्तिका लागि मतदान गरिदिनुहोस्। यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो, पहिला देशलाई जिताऊँ।’

उनले देशको शान्ति र रूपान्तरणका निम्ति सबै एक ठाउँमा उभिएर सङ्कल्प गर्नुपर्नेमा जोड दिए।

मुलुकमा शान्ति सुव्यवस्था कायम भए सबैले अवसर पाउने उनको भनाइ थियो। ‘शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरू पनि सबैले पाउलान्,’ उनले थपिन्।

दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि र सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरेकी थिइन्।

सोही क्रममा उनले जिल्लाको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे पनि जानकारी लिइन्। उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग छलफल गर्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिइन्।

प्रकाशित: २० माघ २०८२ १५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App