१ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

रणवीर सिंहको 'धुरन्धर २’ ले रिलिजअघि नै कमायो २७ करोड बढी

निर्देशक आदित्य धर र अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित चलचित्र ‘धुरंधर २’ले रिलिजअघि नै नयाँ रेकर्ड बनाएको छ।

यो चलचित्रले मार्च १८ का लागि राखिएका ‘पेड प्रिभ्यू’ शोहरूबाटै कीर्तिमानी आम्दानी गरेर भारतीय चलचित्र इतिहासमा नयाँ रेकर्ड बनाएको हो। भारतीय मिडिया अनुसार चलचित्रले सार्वजनिक अघि नै पेड प्रिभ्यू शोमार्फत करिब २७.१३ करोड रुपैयाँ कमाएको छ।

चलचित्रले पेड प्रिभ्यू कमाइमा ‘दे कॉल हिम ओजी’ र  ‘बाहुबली २’ जस्ता चर्चित फिल्महरूको रेकर्ड पनि उछिनेको छ। ‘धुरंधर २’ को पेड प्रिभ्यूका लागि देशभर ९ हजार ५५० शो आयोजना गरिएको थियो, जसमा करिब ५.३८ लाख टिकट बिक्री भएका छन्।

मुंबईमा एउटा टिकटको मूल्य करिब ३१०० रुपैयाँसम्म पुगेको छ भने दिल्लीमा करिब २४०० रुपैयाँसम्म रहेको बताइएको छ। पहिले नै बुक भएका टिकटसमेत जोड्दा फिल्मको रिलिजअघि कमाइ करिब ३१.९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मको पेड प्रिभ्यूले राम्रो प्रतिक्रिया पाएको छ। विश्वभरका प्रिभ्यू शोबाट फिल्मले करिब ६० करोड रुपैयाँ कमाउन सक्ने अनुमान गरिएको छ। उत्तर अमेरिकामा मात्रै ६७ हजारभन्दा बढी टिकट बुक भइसकेका छन्।

यसअघि २०२५ मा सार्वजनिक भएको ‘धुरन्धर’ को पहिलो भागले विश्वभर १३०३ करोड रुपैयाँ कमाएर रेकोर्ड नै बनाएको थियो।

फिल्ममा रणवीर सिंहसँगै अर्जुन रामपाल, संजय दत्त र आर. माधवनको पनि अभिनय रहेको छ। फिल्मलाई निर्देशक आदित्य धरले लेखन, निर्देशन तथा निर्माण गरेका हुन्।

हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा बनेको फिल्म १९ मार्चमा सार्वजनिक हुने तयारीमा छ।

प्रकाशित: १ चैत्र २०८२ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App