२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

पृथ्वीसुब्बाको प्रश्न: बालेनको हातमा देशको शासन गए के हुन्छ, एकपटक कल्पना गरौं त ?

नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाहको हातमा देशको शासन पुगे मुलुक दुर्घटनामा जाने बताएका छन्।

मंगलबार प्रेस चौतारी नेपालले आयोजना गरेको निर्वाचन संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन्। उनले अनुभवहीन र भिजन नभएको व्यक्तिको हातमा सत्ता पुग्दा भयावह स्थिति निम्तिने बताए।

‘रास्वपाले जसरी जुन व्यक्तिलाई अगाडि सारिराखेको छ, त्यस्तो व्यक्तिको हातमा मुलुकको शासन गयो भने के होला ? एकपटक कल्पना गरौँ त,’ गुरुङले भने, ‘मुलुकमा अस्थिरता सुरु हुन्छ, अराजकता सुरु हुन्छ र मुलुक फेरि अस्तव्यस्त बन्छ।’

गुरुङले रास्वपाले प्रस्ताव गरेको नेतृत्वसँग जनताको सामना गर्ने आँट समेत नभएको आरोप लगाए।

उनले भने, ‘दुई जना जनताको अगाडि उभिएर फेस गर्न नसक्ने व्यक्ति, डराएको, सायद उसँग भिजन पनि छैन, नीति पनि छैन र कार्यक्रम पनि देखिँदैन। त्यस्तो व्यक्तिको भरमा देश छोड्न सकिँदैन।’

नयाँ भनिएका शक्तिहरूले नयाँ अनुहारको रटान लगाए पनि उनीहरूसँग देश बनाउने कुनै ठोस योजना नरहेको गुरुङको जिकिर छ।

उनले जनताले टिभी र सामाजिक सञ्जालमा देखिने नयाँ अनुहार मात्र नभई परिपक्व, अनुभवी र स्पष्ट दृष्टिकोण भएको नेतृत्व खोजेको दाबी गरे।

उनले थपे, ‘अहिले बजारमा चलेको नयाँको हल्लाले मात्र देश चल्दैन। देश चलाउन एमालेजस्तो अनुभवी, परिपक्व र भिजनरी पार्टी नै चाहिन्छ। एमालेबाहेक अरूसँग समृद्ध नेपालको खाका छैन।’

प्रकाशित: २० माघ २०८२ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App