प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दीजस्ता हिंसात्मक गतिविधि गर्न अनेरास्ववियुलाई छुट नहुने बताएका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको आइतबार कीर्तिपुरमा उद्घाटन गर्दै ओलीले संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवार बनाउन निर्देशन दिए।
प्रविधिको वर्तमान युगमा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले ‘एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा उनको जोड रहेको थियो। विद्यार्थी आन्दोलन र विशेषगरी अनेरास्ववियुको अगुवाइमा २०३६ मा जनमत संग्रहको घोषणा गराउन बाध्य बनाएको र देशमा साँचो लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको उनले स्मरण गराए।
उनले गणतन्त्रको रक्षा, सुदृढीकरण र गतिशील बनाउन भने, ‘बाटोमा हिँड्दा तपाईंहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिनुन्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनुहुँदैन।’
उनले थपे, ‘एमालेप्रति भ्रम फैलाउने प्रवृत्ति छ। पार्टीभित्र एकता हुनुहुँदैन, चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजिएको छ। मेरो आग्रह छ, हामी फेरि एकताबद्ध भएर गएमा लक्ष्यमा पुग्न सक्छौँ। मिल्नै नसक्ने भए निर्वाचनमा जाने अधिकार छँदैछ।’
उनले सरकार राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि सही नीतिका साथ अघि बढिरहेकाले सत्तासाझेदार दलभित्र कुनै मतान्तर नरहेको पनि स्पष्ट पारेका छन्।
प्रकाशित: २५ जेष्ठ २०८२ १६:०९ आइतबार





