२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

पतञ्जली जग्गा प्रकरण: मेयर थापासहित भक्तपुरका दर्जन बढी प्रतिवादी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा भक्तपुरका एक दर्जन जति छन्।

अभियोगपत्रमा सूर्यविनायक नगरपालिकाका मेयरसहित एक दर्जन बढी भक्तपुरवासीलाई प्रतिवादी बनाइएको खुलेको हो।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका लागि जग्गा किनबेचमा पूर्वप्रधानमन्त्री नेपालसहित नेपालसहित ९३ जनाले भष्टाचार गरेको अख्तियारको दाबी छ। अभियोगपत्रमा भक्तपुर जिल्लाका सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापासहित एक दर्जन बढीलाई प्रतिवादी बनाएको पाइएको छ।

अख्तियारले दायर गरेको मुद्दामा प्रतिवदाी सूचीको ७६ औं नम्बरमा मेयर वासुदेवको नाम छ। हदबन्दी छुट जग्गा गैरकानुनी रूपमा पतञ्जलीले किनबेच गरेकोमा थापाले पनि किनेको खुलेको छ।

हाल जग्गाधनी रहेका थापाले साविक साँगा गाविस वडा नं.४ (ख) को कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजार रूपैयाँमा खरिद गरेको खुलेको हो।

जग्गाधनी स्रेस्ताहरूमा उल्लिखित वासुदेव थापाले दोलखा जिल्ला जुगुं स्थायी घर भई हाल जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ बस्ने डिल्लीध्वज बराइलीसँग १० महिनाअगाडि उक्त जग्गा खरिद गरेको खुलेको हो।

डिल्लीध्वज बराइली सूयविनायक नगरपालिका वडा नं ९ काक्राबारीको अवैध प्लटिङका सञ्चालक पनि हुन्। बराइलीले २२ रोपनी वन क्षेत्र मासेर चार सय ५० रोपनी क्षेत्रफलमा दैनिक झन्डै तीन दर्जन डोजर तथा एस्काभेटरको प्रयोग गरी जंगलको बिचमा प्लटिङ गरिरहेका छन्। जिल्ला प्रशाशन कार्यालय भक्तपुरले उक्त प्लटिङ अवैध भएको जनाउँदै रोक्न आदेश दिए पनि निरन्तर काम चलिरहेको छ।

मेयर थापाको जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको बताइएको छ। जग्गा जफतका लागि मात्रै मुद्दा दायर भएकाले थापाको मेयर पद कायम रहने अख्तियारले जनाएको छ। अभियोगपत्रमा मेयर थापासहित २८ जना र २ कम्पनीलाई जग्गा जफतका लागि मात्रै प्रतिवादी बनाइएको छ। बाँकी ६३ जना बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी हुन्।

अख्तियारले प्रतिवादी बनाएकामा भक्तपुरका मेयर थापा, बद्रीभक्त नायभा, राकेश सुवाल, राजेश त्वायना, राजेश साँद, रोशनीलक्ष्मी तुइतुई, लक्ष्मीकेशरी जाकिबन्जार, तुल्सीराम सुवाल, न्हुछेरत्न खाइतु, प्रकाश खाइजु, मिनु सुवाल, विक्रम प्रजापति, शिवनाथ त्वानाबासु, मञ्जु कवाँ लगायतका छन्।

मेयर थापा २०७९ को स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन्। अघिल्लो पटक पनि उनै मेयरमा विजयी भएका थिए। नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरी थापा एमालेबाट मेयरमा निर्वाचित भएका हुन। एमालेमा उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्। थापा सूयविनायक नगरपालिका वडा नं १० साँगाका स्थायी बासिन्दा हुन्।

अख्तियारले प्रतिवदी बनाएकामा पूर्वमन्त्री पनि छन्। तत्कालीन कानुन तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्को विधेयक समितिका संयोजक प्रेमबहादुर सिंह, भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठ र नेपाल सरकारकार तत्कालीन मुख्य सचिव माधवप्रसाद घिमिरे छन्। घिमिरे मुख्यसचिवपछि मन्त्री बनेका थिए।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि मिलेमतोमा हदबन्दीभन्दा बढी जग्गा खरिद तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, चौतारामा प्रालि र सुसम्पन्न हाउजिङ गरी तीन कम्पनीविरुद्ध पनि मुद्दा दायर गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८२ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App