२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीको बोलीले होइन, राष्ट्रवादले विरोधी बढे: ईश्वर पोखरेल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको बोली र अभिव्यक्तिका कारण नभई राष्ट्रियताको पक्षमा लिएको दृढ अडानका कारण एमालेमाथि चौतर्फी हमला भइरहेको दाबी गरेका छन्।

उनले छिमेकीसँग ‘घुँडा टेक्ने’ नभई ‘आँखामा आँखा जुधाएर’ राष्ट्रिय हितमा कुरा गर्ने नीतिका कारण विरोधीहरू बढेको जिकिर गरे।

शनिबार ओखलढुङ्गा लिखु-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी नेतृत्वको बचाउ गरेका हुन्।

‘कोही-कोहीले ओलीजीले यताउता बोल्दिनुहुन्छ, कटाक्ष गर्नुहुन्छ, त्यसैले विरोधी बढे भन्छन्,’ उनले भने, ‘म पूरा जिम्मेवारीका साथ भन्न सक्छु, कारण त्यो होइन। एमाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले नेपाललाई कमजोर बनाउन चाहने शक्तिहरूले हमला गरिरहेका छन्।’

सोही कार्यक्रममा पोखरेलले राजतन्त्र पुनर्स्थापनाको बहसलाई खारेज गर्दै एमाले तीनवटा विषयमा कहिल्यै सम्झौता नगर्ने अडान स्पष्ट पारे।

उनका अनुसार एमाले जन्मसिद्ध अधिकार, वंश परम्परा र अनिर्वाचित सत्तामा आधारित कुनै पनि शासन प्रणालीको पक्षमा उभिन सक्दैन। ‘योग्यता र क्षमताको आधारमा जनताबाट चुनिएर आउनेले मात्र शासन गर्नेछ, यो हाम्रो आधारभूत मान्यता हो,’ उनले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले राजतन्त्रकालीन अवस्था र गणतन्त्रपछिको विकासको तुलना गर्न आग्रह गर्दै राजतन्त्रको वकालत गर्नु तथ्यहीन भएको बताए।

प्रकाशित: २४ जेष्ठ २०८२ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App