नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातीय भेदभाव तथा छुवाछूत नेपाली समाजको विकृति भएको बताउँदै यसको पूर्ण अन्त्यका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याएका छन्।
राष्ट्रिय समता दिवस तथा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिन जेठ २१ को अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस दलित समुदाय समन्वय र सशक्तिकरण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
सभापति देउवाले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपश्चात् पुनःस्थापित संसदले २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पारित गरेको दिन सामाजिक रूपान्तरणको क्षेत्रमा आफैमा महत्त्वपूर्ण रहेको स्मरण गरे।
उनले हजारौं वर्षदेखि धर्म, प्रथा र परम्पराका रूपमा कायम जातीय भेदभावले समाजलाई विकृत बनाएको उल्लेख गर्दै यस किसिमका सबै भेदभाव अन्त्य गरी समतामूलक समाज निर्माणमा पार्टीको अविचलित प्रतिवद्धता रहेको बताए।
नेपाली कांग्रेसले नै २००७ सालको क्रान्तिमा ‘जातपात मान्दैनौं, संगै बसौं, संगै खाऔं’ भन्ने मूल नाराका साथ दलित समुदायले भोग्नु परेको अमानवीय भेदभावविरुद्ध पहिलो पटक आवाज उठाएको प्रसङ्ग उल्लेख गर्दै सभापति देउवाले पार्टीको नेतृत्वमा भएका सरकारहरूले गरेका महत्वपूर्ण निर्णयहरूको स्मरण गराए।
उनले २०४९ सालमा मुलुकी ऐन संशोधन गरी जातीय भेदभाव र छुवाछूतलाई दण्डनीय बनाइएको, २०५२ सालमा दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रम ल्याइएको, २०५४ सालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति गठन गरिएको तथा २०५८ सालमा राष्ट्रिय दलित आयोग स्थापना गरिएको जस्ता ऐतिहासिक कदमहरू कांग्रेसकै पहलमा भएको सुनाए।
दलीय व्यवस्थामा दल आफैं समावेशी नभएसम्म राज्यका अन्य संरचनाहरू समावेशी हुन नसक्ने यथार्थलाई आत्मसात् गर्दै आफ्नो नेतृत्वमा पार्टीले कर्णाली, दलित, महिला, जनजाति र मधेसी समुदायलाई पार्टीका सबै तहमा अनिवार्य प्रतिनिधित्वको वैधानिक व्यवस्था गरेको उनले जानकारी दिए।
यही व्यवस्था पछि अन्तरिम संविधान हुँदै वर्तमान संविधानमा दलित समुदायको हक, जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक मौलिक हकका रूपमा स्थापित भएको उनको भनाइ थियो।
यति धेरै प्रयासका बाबजुद दलित समुदायका व्यक्तिहरूले ज्यानै गुमाउनुपर्ने किसिमका विभेदका घटनाहरू भोग्नुपरेको देख्दा-सुन्दा अत्यन्त पीडाबोध हुने बताउँदै सभापति देउवाले यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव नहुनेमा जोड दिए। उनले जातीय भेदभाव गर्ने व्यक्ति पार्टीको सदस्य नरहने विधानको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई निर्देशन दिए।
वर्तमान संयुक्त सरकारका माध्यमबाट पनि विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताउँदै उनले नेपाल दलित संघ लगायत दलित समुदायका अधिकार प्राप्तिका लागि स्थापित संघ-संगठनहरूलाई विभेदविरुद्ध जुझारु ढंगले आवाज बुलन्द गर्न र राज्य तथा समाजको ध्यानाकर्षण गराइरहन आग्रह गरे।
सभापति देउवाले राष्ट्रिय समता दिवसको अवसरमा महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा दलित समुदाय समन्वय र सशक्तिकरण विभागलाई धन्यवाद ज्ञापन गरे।
प्रकाशित: २१ जेष्ठ २०८२ १५:४५ बुधबार





