२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदः अब ‘वास्तविक विद्यार्थी’ नै विद्यार्थी नेता

विद्यार्थी नेतृत्वको सवालमा लामो समयदेखि उमेरको हदबन्दी जोडतोडका साथ उठ्दै आएको थियो। कतिपय अवस्थामा उमेर हदबन्दीबारे विभिन्न विद्यार्थी सङ्गठनबिच बृहत् छलफल नै भएका थिए। 

यस्तोमा नेपाली कांग्रेसले आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)मा ३२ वर्षको उमेर हद लगायो। २०७५ को असोजमा सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले उमेर हदको निर्णय गरेको थियो। 

यसरी विद्यार्थी राजनीतिमा उमेर हद कायम गर्ने नेपालको पहिलो विद्यार्थी संगठन नेविसंघ भएको थियो। कांग्रेसको सोही निर्णयपछि नेविसंघको नेतृत्व ३२ बर्समुनिका दुजाङ शेर्पाको काँधमा आएको थियो।  

उमेर हदको व्यवस्थाले वास्तविक विद्यार्थी नै विद्यार्थी राजनीतिको नेतृत्वमा पुग्ने र  त्यसले विद्यार्थीले भोग्ने गरेका वास्तविक समस्या पहिचान गरेर सम्बोधन गर्न सघाउ पुग्ने गरेको अध्यक्ष शेर्पा बताउँछन्। 

नेविसंघलाई पछ्याउँदै पछिल्लो समय नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी र अहिले नेकपा एमालेनिकट अनेरास्ववियूले पनि ३२ वर्षकै उमेर हद निर्धारण गरेका छन्। दुवै संगठनमा यो व्यवस्था लागु गर्न निकै माथापच्ची भयो। 

यसअघि विद्यालय र कलेज छाडेको लामो समय भइसकेकाहरू राजनीति गर्नकै लागि विद्यार्थी संगठन र पदमा बसिरहने, पुस्तान्तरणको मुद्दा सधैँ ओझेल पर्ने, अध्ययनरत विद्यार्थीका समस्या जस्ताको तस्तै रहने समस्या रहेको गुनासो उठ्दै आएको थियो। लामो समय पुराना नेताले संगठन कब्जा गरेर बस्दा त्यसले सिर्जना गरेको नेतृत्वमा जामका कारण नयाँ विद्यार्थीहरूलाई नेतृत्वमा पुग्ने ढोका पनि बन्द हुँदै आएको थियो। जसले नयाँ विद्यार्थीको राजनीतिमा प्रवेश पनि कम हुदैँगएको थियो।

‘नेविसंघमा विद्यार्थी संगठनको नेतृत्वमा वास्तविक विद्यार्थीकै प्रतिनिधित्व हुनुपर्ने आवाज विद्यार्थीहरूबाटै उठाएका थियौँ। जुन कार्यान्वयन पनि भयो,’ अध्यक्ष शेर्पाले भने, ‘अहिले अन्य समकक्षी संगठनमा पनि कार्यान्वयन भएको छ। जुन खुसीको कुरा हो। अब प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा वास्तविक विद्यार्थी पुग्ने अपेक्षा गर्न सकिन्छ।’ 

यो विद्यार्थी मुद्दा र शैक्षिक सुधारका लागि महत्त्वपूर्ण अवसर पनि भएको उनी सुनाउँछन्। ‘विद्यार्थी नै नेतृत्वमा पुगेपछि कक्षाकोठादेखि परीक्षासम्मको पिर मार्का र भावना बुझेर काम गर्न सकिन्छ। कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको वास्तविक समस्या सम्बोधन गर्न सहज बन्छ’, उनले भने। 

माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको गत माघमा सम्पन्न २३ औँ महाधिवेशनमा ३२ वर्षको उमेर हदबाट विजय सापकोटाको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गरिसकेको छ। त्यसअघि पुसमा मतदान गराएरै बहुमतबाट ३२ वर्षे उमेर हद कायम गराएको थियो। 

३२ वर्ष उमेर हद कार्यान्वयन गर्ने वा नगर्नेबारे मतदान गरेरै विधान पारित भ भएको हो। सोही व्यवस्थाबाट म अध्यक्ष निर्वाचित भएकामा खुसी छु,’ अखिल क्रान्तिकारीका अध्यक्ष सापकोटाले भने, ‘म विद्यार्थी संगठनको अध्यक्ष स्वयं विद्यार्थी पनि हुँ। पोखराको पिएन क्याम्पसको स्नातकोत्तर तह विज्ञानको विद्यार्थी हुँ ।’ 

उनले विद्यार्थी सङ्गठनहरूकै पहलमा  स्ववियूमा २८ वर्ष उमेर हद कायम भएको उल्लेख गर्दै राजनीतिक संगठनमा पनि उमेर हद जरुरी रहेको बताउँछन्।  

‘पहिले स्ववियू र अहिले विद्यार्थी संगठनमा उमेर हद कार्यान्वयनमा आउँदा अबको विद्यार्थी नेतृत्वमा वास्तविक विद्यार्थी आउने वातावरण बनेको छ। यो आगामी पुस्ताका लागि उत्साह र खुसीको खबर हो,’ अध्यक्ष सापकोटाले भने। 

अखिल क्रान्तिकारीमा मात्रै उमेर हदले ६ सय भन्दा बढी जना विद्यार्थी राजनीतिको होडबाट बाहिरिएर पार्टी राजनीतिमा सिफ्ट हुनुपरेको उनी बताउँछन्। उनले भने, ‘नेतृत्वमा पुग्ने आशामा १० औँ वर्ष विद्यार्थी भइरहनेहरूको जाम ह्वात्तै हट्यो। यसले हामीजस्ता नयाँ पुस्तालाई नेतृत्वमा पुग्ने र विद्यार्थी राजनीतिमा आउने अवसर  मिलेको छ।’  उमेर हदले युवा पुस्तामा राजनीतिप्रति देखिएको वितृष्णा पनि दूर गर्ने अध्यक्ष सापकोटा बताउँछन्। 

भर्खरै एमालेको सचिवालय बैठकले अनेरास्ववियुमा पनि ३२ वर्षको उमेर हद लगाउने निर्णय गरेको छ। त्यसले अब आफ्नो संगठनमा पनि नयाँ पुस्तालाई आगमनको बाटो खोलेको अनेरास्ववियूका अध्यक्ष समीक बडाल बताउँछन्। 

‘३२ वर्ष उमेर हदले नेतृत्वमा विद्यार्थी नै आउने सम्भावना बढेको छ,’ उनले भने, ‘अब जेठ २५ देखि २८ सम्म तय गरिएको महाधिवेशनमा यो कार्यान्वयन हुनेछ।’

प्रकाशित: १६ जेष्ठ २०८२ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App