राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर गएकी छन्। उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्।
चीनको शान्सी प्रान्तको सियान शहरमा जेठ ५ देखि १० गते (मे १९-२४) सम्म हुने ‘शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च’ र ‘नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पूर्व र पश्चिम चीन बीच सहयोगका लागि लगानी र व्यापार मञ्च’ मा सहभागी हुने कार्यक्रम छ। दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन्।
उनीसँगै प्रतिनिधि सभा सदस्य दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रिय सभा सदस्य बेदुराम भुसाल र सुमित्रा बिसी, संसद सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह प्रतिनिधिमण्डलमा छन्। चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधिमण्डल स्वदेश फर्कनेछ।
प्रकाशित: ५ जेष्ठ २०८२ १५:३७ सोमबार





