सांसद ईश्वरी घर्तीले जसको नाममा बजेट व्यवस्था गरिन्छ, उनीहरू नै टाढा रहने गरेको बताएकी छन्। बुधबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन्।
''जसका लागि बजेट व्यवस्था गरिन्छ, उनीहरू नै बजेटको पहुँचदेखि टाढा रहन्छन्,'' उनले भनिन्, 'गरिब, महिला, दलित, बालबालिका, अपाङ्गता भएका व्यक्ति, साना उद्यमी, युवा; उनीहरू नै बजेटको पहुँचबाट टाढा रहन्छन्। त्यो बजेटको अर्थ के ?'
सरकारको नीति तथा योजना र बजेटको अन्तिम लक्ष्य जनताको जीवनस्तर उकास्नु नै भएको उल्लेख गर्दै उनले व्यवस्था भएका बजेटको सही सदुपयोगका लागि संयन्त्र बनाउनुपर्ने बताइन्।
'जब बजेट केन्द्र, प्रदेश वा पालिका तहमा अल्झिन्छ, जब रकम दुरुपयोग हुन्छ, जब सही व्यक्ति छुट्छन्, त्यो नीति सफल हुँदैन। लाखौँ खर्च गरे पनि, करोडौँ खर्च गरे पनि परिवर्तनको अनुभूति जनताले गर्दैनन्। यसको समाधान नीति तथा कार्यक्रम र बजेट बनाउने मात्रै होइन, पुर्याउने संयन्त्र बलियो बनाउने, तीन तहको सरकारलाई बलियो बनाउने हो,' उनले भनिन्।
प्रकाशित: २४ वैशाख २०८२ १६:२३ बुधबार



-600x400-wm.jpg)

