नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकार विरुद्धका चलखेलहरू जारी रहेको बताए।
उनले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक सावित भएको जिकिर गरे।
उनले भने, ‘दिनहुँ सरकार विरुद्धका चलखेल जारी छन्। आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ। तर सरकार अघि बढिरहेको छ। त्यस्ता वक्तव्य र झुटो बकवासहरू निरर्थक साबित भएका छन्। त्यस्ता बोल्ने नेतृत्वलाई कति वटा जिब्रो भएका र अहोरात्र कति झुटो बोल्न सक्ने काबिल नेता मानेर कहिलेसम्म सुनिरहनुपर्ने हो, हामी नेपालीहरूले।’
प्रकाशित: २२ वैशाख २०८२ १३:११ सोमबार





