१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

विश्वमा मित्रता, प्रेम र सद्भाव फैलाउन आवश्यक : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यसको ज्ञान, परम्परा र सभ्यतामा विभिन्न संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता रहेको बताएका छन्। यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना फैलाउनुपर्ने उनले बताए। 

राष्ट्रपति पौडेलले नागार्जुन–७ रामकोटमा निर्मित बद्रीनारायण मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा भने, ‘हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत हो। यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिन्छ। यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउनुपर्छ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ।’

सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुने बताउँदै उनले वैदिक सनातन संस्कृति र परम्पराको प्रवर्द्धनमा मन्दिरले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, धार्मिक पर्यटन प्रवर्द्धनमा पनि यसले सहयोग पुर्‍याउने उनको भनाइ छ। 

उनले भने, ‘विश्वमा भौतिक विकासको होडबाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौँ, आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा मन्दिरबाट योगदान पुग्ने मैले विश्वास लिएको छु।’ रासस

प्रकाशित: २० वैशाख २०८२ १३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App